सिरहा – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ताको ढोका बन्द गरी सरकारले बन्दूकले आन्दोलन दमन गर्न खोजे परिणाम भयानक हुने चेतावनी दिएका छन् ।
‘सरकारले वार्ताको सबै ढोका बन्द गरी जनताको जायज आन्दोलनमा दमन गरिए ठीक हुँदैन’ -यादवले भने । यादवले राज्य विरुद्ध निर्णायक आन्दोलनका लागि समेत तयार रहन आव्हान गरे ।
वार्ता र संवाद मार्फ़त समाधान खोज्न सरकार गम्भीर नदेखिएकोले संविधान पुनर्लेखनका लागि आन्दोलनको विकल्प नभएको उनले बताए ।’यो सरकार नश्लवादी, एकलजातीय र गैर समावेशी छ,’-सिरहाको गोलबाजारमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने, ‘सरकार गैर जिम्मेवार बनेकोले मधेशी, आदिवासी जनजाति, थारु, मुश्लिम सहित उत्पीड़ित समुदायले मसाल बोकेर आन्दोलनको बिगुल फुक्नुको विकल्प छैन ।’ भावी सन्ततिको सुरक्षित भविष्यका लागि न्याय प्राप्तिको आन्दोलनमा साथ दिन यादवले सबैलाई आव्हान गरे । यादवले भने, ‘अब काठमाण्डौ मैं हिसाब किताब हुन्छ । राजधानी केन्द्रीत शान्तिपूर्ण अहिंसात्मक आन्दोलनले सरकारलाई घुडा टेकाउँछ ।’
यता, पूर्व मन्त्री शत्रुधन कुमार महतोको नेतृत्वमा सिरहाबाट हजारौंको संख्यामा विभिन्न पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपाल प्रवेश गरेका छन् ।
महतोसँगै फोरम लोकतान्त्रिक सिरहाको सम्पूर्ण जिल्ला कार्यसमिति नै फोरम नेपाल प्रवेश गरेको हो । भौतिक योजना मन्त्री विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको केन्द्रीय नेता समेत रहेका पूर्व मन्त्री महतो सहित नेता कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् ।
फोरम लोकतान्त्रिक परित्याग गर्नेमा जिल्ला अध्यक्ष राम चरित्र साह, उपाध्यक्ष अशोक यादव, सचिव राजकुमार महतो, सहसचिव जगदीश महतो, युवा अध्यक्ष सोगरथ यादव सहित प्रभावशाली नेताहरु छन् । त्यस्तै, सिरहाका प्रभावी नेता रामऔतार पण्डित र हरिचन्द्र पण्डितले पनि कांग्रेस परित्याग गरी फोरममा प्रवेश गरेका छन्। यो सँगै फोरम लोकतान्त्रिक र कांग्रेससहित सत्तारूढ़ दलहरुलाई ठूलो धक्का पुगेको छ । फोरम नेपालका केन्द्रीय कोषाध्यक्ष एवम् पूर्व मन्त्री विजय यादवको विशेष पहलमा महतोसहित नेता कार्यकर्ताहरु फोरम नेपाल प्रवेश गरेका हुन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...