-->
सुकी सत्तामा आएपछि म्यानमारमा ठूलो परिवर्तन, आस्थाका बन्दी धमाधम रिहाइ

याङ्गुन, २८ चैत । म्यानमारमा शनिबार राति थप ६१ जना राजनीतिक आस्थाका बन्दी रिहाइ गरिएको छ ।
म्यानमारको जेलमा रहेका राजनीतिक आस्थाका बन्दी रिहाइको प्रक्रिया शुक्रबारबाट सुरु भएको थियो । शुक्रबार एकै दिनमा १३८ जना बन्दी रिहा गरिएकोे थियो ।
यसप्रकार रिहा हुनेहरुमा सक्रिय कार्यकर्ता र विद्यार्थी रहेका छन् । ती बन्दीमा अधिकांशलाई राजनीतिमा लागेर दलका क्रियाकलापको प्रचारप्रसार गरेको आरोपमा यसअघिको सैनिक सरकारले थुनामा राखेको बताइएको छ ।
शनिबार राति रिहा गरिएका थप ती ६१ जनालाई बाँकी जेल जीवन माफी भएको सरकारी स्रोतले जानकारी दिएको छ ।
यसअघि शुक्रबार म्यानमारको राजधानी नेपित्व चारवटा जेलमा रहेका बन्दीमध्ये १३८ जनालाइ रिहा गरिएको थियो ।
यी आस्थाका बन्दीहरु रिहा गरिने सङ्केत प्राप्त भएपछि शुक्रबार बिहानैदेखि आफन्त जेलको परिसरमा जम्मा भएका थिए ।
म्यानमारकी नवनिर्वाचित विदेशमन्त्री एवम् प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले म्यानमारको जेलमा रहेका राजनीतिक बन्दीको रिहाइका लागि आफूले जतिसक्दो चाँडो प्रक्रिया सुरु गर्ने बताउनुभएको थियो ।
सोही बमोजिम उनीहरुलाई जेलबाट मुक्त गरिएको बताइएको छ । म्यानमारको जेलमा रहेका राजनीतिक अस्थाका बन्दीको रिहाइका लागि आफूले प्रक्रिया थाल्ने आश्वासन बिहीबार मात्र सुकीले एक सार्वजनिक सम्बोधनका क्रममा दिनुभएको थियो ।
उहाँले प्राथमिकताका आधारमा यस्ता बन्दीलाई रिहा गरिने भन्दै अब कसैले पनि राजनीतिक विचारधाराका कारण जेलमा बस्नुनपर्ने गरी नागरिकलाई सरकारले न्याय दिने पनि जनाउनुभएको थियो ।
अझै पनि म्यानमारको जेलमा हजारौँ यस्ता राजनीतिक बन्दी रहेका बताइन्छ । राजनीतिक आस्थाका बन्दी रिहाइ गर्ने कार्य सुरु भएयता १९९ जना बन्दी जेल मुक्त भएका र यसमा ३६ जना महिला रहेका जनाइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.