-->
धान खेतीभन्दा घाँसमा फाइदा

चितवन–धान रोप्न छाडेर गत वर्ष साउनमा भरतपुर उपमहानगरपालिका १६ मंगलपुरका दुर्गाप्रसाद गौतमले १० कट्ठामा घाँसकोे बीउ छरे, बिरुवा रोपे ।
अन्न छाडेर घाँस लगाउन खोज्दा धेरैले उनलाई 'बहुलाउन' थाल्यो पनि भने । तर घाँसबाट उनले गरेको आम्दानी लोभ लाग्दो छ । खाद्य बालीबाट भन्दा १० गुना बढी कमाइ घाँसबाट भएको बताउँछन् गौतम ।
उनले ३० वटा बाख्रा, आठ वटा गाई र एउटा भैंसी पालेका छन् । बाख्रा र गाईभैंसीलाई खुवाउन अघिल्ला वर्षमा तीन लाख रुपैयाँको पराल किन्नुपथ्र्याे । गत वर्ष उनले जम्मा ६० हजार रुपैयाँको पराल किने । त्यसध्ये अझै केही बाँकी नै छ । खेतमा घास बढेपछि बाख्रा, गाईभैंसीलाई परालको मात्रै भर पर्नुपरेन । पराल नकिन्दा अढाई लाख रुपैयाँ जोगियो ।
'१० कट्ठामा धान, मकै लगाएको भए मुस्किलले २५ हजार रुपैयाँ आम्दानी हुन्थ्यो होला । खेतला पनि लगाउनु पथ्र्याे । तर घाँसमा अब आठ १० वर्षलाई सिँचाइ र मल दिनुबाहेक गोडमेल, खनजोत खासै गर्नुपर्दैन । कति जोगियो कति,' गौतमले भने । परालभन्दा हरियो घाँस खाएका पशुको स्वास्थ्य पनि राम्रो हुन्छ ।
उनले १० कट्ठामा नौ जातका घाँस लगाएका छन् । भुइँ घास तीन जातका छन् भने अरु डाले हुन् । छरेको वा रोपेको तीन महिनामा भुइँ घास काट्न तयार हुन्छ । काटेको महिना दिनपछि फेरि काट्न मिल्छ । 'पशु पनि स्वस्थ्य हुने भएपछि दूध पनि पोषिलो हुन्छ । दूधमा फ्याट (चिल्लो पदार्थ) बढी हुन्छ बिक्री गर्दा मूल्य पनि राम्रो पाइएको छ,' घाँस खेतीबाट भएको अन्य फाइदाबारे गौतमले भने ।
बीउ र बिरुवा पनि बिक्री
मंगलपुरमा घाँसको बीउ र बिरुवा पनि बिक्री हुने गरेको छ । मंगलपुर विजयनगरमा रहेको उपहार सामाजिक उद्यमी महिला सहकारीले शेयर सदस्यलाई घाँस खेतीमा लाग्न प्रोत्साहित गर्दै आएको छ । सहकारीमा नौ सय ३० जना सदस्य छन् । लगभग सबैले घाँस खेती गरेका छन् । घाँससँगै बीउ उत्पादन गरेर बेच्दै आएको सहकारी अध्यक्ष सावित्री गुरुङले बताइन् ।
'१०÷१२ किलो होस वा दुई सय ग्राम जे जति ल्याए पनि हामीले किन्ने गरेका छौं,' अध्यक्ष सावित्रीले भनिन् । सहकारी व्यवस्थापक रमा अधिकारीका अनुसार गत वर्ष दुई लाख ९१ हजार रुपैयाँबराबरको घाँसको बीउ बिक्री भएको थियो । त्यस्तै डाले घाँसका विभन्न जातका १३ हजार बिरुवा सहकारीले बिक्री गरेको व्यवस्थापक अधिकारीले बताइन् ।
सहकारीले दुई लाख ३५ हजार सात सय ४० रुपैयाँबराबरको बिरुवा बिक्री गरेको थियो । धादिङ, नुवाकोट, नवलपारसीसम्म बीउ र बिरुवा बेच्ने गरेको व्यवस्थापक अधिकारीको भनाइ छ । गाईवस्तुलाई खुवाउन पनि हुने र बीउबिरुवा बेचेर थप आम्दानी लिन पनि सकिने देखेपछि घाँसखेतीमा आकर्षण थपिएको छ ।
'सहकारीका सदस्यले धेरैथोरै घाँस लगाएका छन्, सहकारीमा नबसेकाले पनि लगाउन सुरु गरे,' अध्यक्ष गुरुङले भनिन् । बारीमा मात्रै नभएर आली र कान्लामा पनि घाँसका बोटबिरुवा लगाउन मिल्ने भएकाले खेती गर्न सजिलो भएको सहकारी सदस्य सावित्री देवकोटाले बताइनु ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.