काठमाडौं- मनमोहन अधिकारी हामीबीच नरहनुभएको वर्षौं भइसकेको छ। उहाँ दिंवगत हुनुभएको वैशाख १३ गतेको दिनलाई मनमोहन स्मृति दिवसका रूपमा मनाउने गरिएको छ।
मनमोहन अधिकारी किशोरावस्थादेखि नै राजनीतिक रूपमा सचेत हुनुहुन्थ्यो। स्वतन्त्रताको प्रखर चेतना उहाँमा थियो, त्यसैले भारतमा विद्यार्थीका रूपमा रहँदा नै ब्रिटिस साम्राज्यवादविरोधी भारतीय जनताको संघर्षमा सामेल हुनुभयो। भारतमै पक्राउ गरेर उहाँलाई जेल हालियो।
जेलबाट छुटेपछि राजनीतिक रुपमा झन् प्रखर हुनुभयो र विराटनगरमा राणा शासनविरुद्ध मजदुर आन्दोलन सुरु गर्नुभयो। अधिकारी नेपालको कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताका प्रमुख नेतामध्ये पर्नुहुन्थ्यो। नेपालको कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशनद्वारा निर्वाचित महासचिव हुनुहुन्थ्यो।
अधिकारी त्यस बेला मेरो पार्टीको नेता हुनुहुन्थेन जुन बेला मैले उहाँलाई भेटेको थिएँ। काठमाडौं आउँदा अक्सर उहाँ बस्ने ठाउँ न्युरोडनजिक टेबहालको संकटा लज थियो। पहिलोपल्ट मैले उहाँलाई त्यहीँ भेटेको थिएँ। म त्यस बेला राम्रो चलेको एउटा साप्ताहिक पत्रिकाको सम्पादक थिएँ।
सायद जाडो महिना थियो। साँझ–साँझ भेट्न जाँदा एक जना मात्र सुत्न मिल्ने खाटमा उहाँ मैलो सिरक ओढेर बसिरहनुभएको थियो। भुइँमा केही ओछ्याएको थिएन। कोठाको भुइँमा प्लास्टर उप्केर ठाउँ–ठाउँमा खाल्डोजस्तो परेको देखिन्थ्यो। पाहुना आउँदा बस्न कुर्सीसम्म पनि थिएन। मलाई उहाँले आफू बसेको खाटको एक छेउमै बस्न भन्नुभयो।
उहाँसँग भेट्न जाँदा म निकै सतर्क थिएँ। अक्सर उहाँका पछाडि पञ्चायती सरकारले गुप्तचर लगाइरहेको हुन्थ्यो। उहाँलाई भेट्नेहरूप्रति पनि गुप्तचरको वक्रदृष्टि परिहाल्थ्यो।
म संगठित रहेको पार्टीले मनमोहन अधिकारीलाई त्यस बेला 'दक्षिणपन्थी' भनेर चर्को आलोचना गर्थ्यो। दलहरू प्रतिबन्धित रहेको त्यस बेला मेरो सार्वजनिक परिचय वामपन्थी सम्पादकका रूपमा बढी चर्चित थियो। पहिलो भेटपछि नै मेरो मनमा मनमोहन अधिकारीप्रति श्रद्धाभाव उत्पन्न भएको थियो। त्यस बेला म संगठित रहेकै पार्टीभित्र पनि वैचारिक बहस चर्को रूपमा हुन थालेको थियो।
२०३९ सालपछि त म, टंक कार्कीलगायत पार्टीको एउटा पंक्ति नै दल खोल्न पाउने अधिकारका लागि 'पार्टी स्वतन्त्रता' को नारा अगाडि सार्नुपर्छ भनेर बहसमा उत्रेका थियौं। सिपी मैनालीलाई महासचिवबाट हटाएपछि पार्टीभित्र चर्को बहस सुरु भएको थियो। म, टंक कार्कीलगायत पार्टीको ठूलै पंक्ति सिपी मैनालीलाई महासचिवबाट हटाएर अन्याय गरियो भन्ने ठान्थ्यौं त्यस बेला। सिपीले पार्टी स्वतन्त्रताको नारालाई समर्थन गर्नुभएको थियो भने पार्टी केन्द्रले चाहिँ 'पार्टी स्वतन्त्रता' को सट्टा 'राजनीतिक स्वतन्त्रता' लाई प्रमुख नारा बनाउने विचार अघि सारेको थियो।
आफ्नै पार्टीभित्र भीषण वैचारिक संघर्ष चलिहेको थियो। हामी केही युवा पार्टी नेताहरूसँग बहस गर्न त्यस बेला वैचारिक र सैद्धान्तिक ज्ञान बढाउने अनेक पुस्तक खोजी–खोजी मध्यरातसम्म पढ्ने गर्थ्यौं। मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, प्लेखनोभ, माओत्से तुङ, चाउ एनलाई होची मिन्ह र चारु मजुमदार, जार्जी दिमित्रोव, नम्बुदिरिपाद, डाँगे, सत्यनारायण सिंह र विनोद मिश्रका पुस्तक पेन्सिल वा रातो डट्पेनले अन्डरलाइन गरीगरीकन पढ्थ्यौं। बहस गर्दा उनीहरुका भनाइ र रचनामा सन्दर्भको चर्चा गथ्यर्ौं। सोभियत कम्युनिस्ट पार्टी, चिनियाँ कम्युनिस्ट पार्टी र भारतीय कम्युनिस्ट पार्टीका दस्तावेज र प्रकाशन खुब पढ्थ्यौं। खालि दार्शनिक र राजनीतिक पुस्तक मात्र नभएर त्यस बेला समाजशास्त्र, विश्वसाहित्य र नेपाली साहित्यका चर्चित पुस्तक पनि खुब पढियो।
वामपन्थी आन्दोलनमा पढ्ने र विश्वमा भइरहेका विभिन्न घटना र प्रवृत्तिको विश्लेषण र बहस गर्ने काम व्यापक रूपमा हुन्थ्यो त्यो बेला। यस्तै अध्ययन र विश्लेषणकै क्रममा म र कार्कीलाई आफ्नो पार्टीको लाइन समयभन्दा उग्र रहेको लाग्न थालेको थियो। जनमत संग्रहमा पञ्चायतले धाँधली गरेर जितेको देखेका हामी पञ्चायतविरुद्ध राजनीतिक दल खोल्न पाउने अधिकारका लागि पञ्चायतविरोधी सबै शक्ति मिल्नुपर्छ भन्ने धारणा बनाउँदै थियौं र त्यसका लागि सबभन्दा पहिला छरिएका वामपन्थी शक्तिले एउटा साझा मोर्चा बनाउनुपर्छ भन्ने मान्यतामा पुगेका थियौं।
नेपाली कांग्रेसले पञ्चायतविरुद्ध गरेको सत्याग्रहलाई समर्थन गर्न मैले र कार्कीले पार्टी नेतृत्वलाई दबाबयुक्त आग्रह गरेका थियौं। मनमोहन अधिकारी र सहाना प्रधान आदिले त सत्याग्रहलाई खुलेर साथ दिनुभएको थियो। म र कार्कीले अधिकारी, सिद्धिलाल सिंह, भरतमोहन अधिकारी, बलराम उपाध्याय, कमल कोइरालालगायत मनमोहन–सहाना समूहका अरू थुप्रै नेतासँग पटक–पटक कुराकानी गरेका थियौं। प्रदीप गिरी, मार्सलजुलुम शाक्य, प्रकाशमान सिंह र बलबहादुर केसीलगायत कांग्रेसका विभिन्न नेतासँग कुराकानी गरेर पञ्चायतविरुद्ध संयुक्त रूपमा संघर्षमा जाने वातावरण बनाउन हामी लागेका थियौं। यस्तै सन्दर्भमा मेरो मनमोहन अधिकारीसँग भेटघाट बढ्दै गयो र विश्वास तथा श्रद्धाभाव पनि वृद्धि हुँदै गयो।
२०४६ को जनआन्दोलन गर्न विभिन्न वामपन्थी पार्टी मिलेर 'संयुक्त वाममोर्चा' बनाइयो तर अधिकारीप्रति अविश्वास जनाउँदै मोर्चाको अध्यक्ष सहाना प्रधानलाई बनाइयो। राजनीतिक चेतना, वरिष्ठता, क्षमता आदि सबै दृष्टिकोणले हेर्दा पनि वाममोर्चाको अध्यक्ष अधिकारीलाई नै बनाउनुपर्थ्यो। उहाँप्रति अन्याय हुन गएको थियो। पछि त अधिकारी र सहना प्रधानहरू रहनुभएको पार्टी र तत्कालीन नेकपा (माले) मिलेर नेकपा (एमाले) बन्यो।
अधिकारीलाई ध्यानमा राखेर नै नेकपा (एमाले)को पाँचौं महाधिवेशनमा अध्यक्ष पद सिर्जना गरिएको थियो। उहाँको देहावसानपछि सातौं महाधिवेशनले अध्यक्ष पद नै विधानबाट हटाएको थियो। अध्यक्ष पद सिर्जना पुनः आठौं अधिवेशनले गरेको थियो।
अधिकारी उदारमना व्यक्ति हुनुहुन्थ्यो। नेकपा (एमाले) मा उहाँले कतिपय नेताबाट सुरुसुरुमा बेवास्ता, आलोचना र अपमान पनि भोग्नुपर्योत तर कार्यकर्ता पंक्तिबाट भने व्यापक सम्मान र माया पाउनुभयो। पछि उहाँको लोकप्रियता बढ्दै गयो र त्यो पार्टीको एउटा यस्तो पुँजीका रूपमा देखापर्यो् जसलाई बेवास्ता गर्ने हिम्मत कसैले पनि गर्न सकेनन्।
बहुदलीय व्यवस्था पुनःस्थापना भएपछिका दुईवटा आमनिर्वाचनमा उहाँ विजयी हुनुभयो। पहिलोपल्ट प्रमुख प्रतिपक्षी नेता हुनुभयो भने दोस्रो निर्वाचनपछि प्रधानमन्त्री। नौमहिने सरकारको प्रधानमन्त्री हुँदा त उहाँ अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो। अन्य कुनै पनि प्रधानमन्त्री मनमोहन अधिकारीजति लोकप्रिय हुन सकेका छैनन्। लोकप्रियताको शिखरमा रहेकै बेला उहाँ दिवंगत हुनुभयो।
देशभक्ति अधिकारीको प्रत्येक व्यवहारमा देखिन्थ्यो। भारतसँग स्वाभिमानसाथ सम्बन्ध राख्नुपर्छ। आफ्नो राष्ट्रिय हित र जनताको स्वार्थ नछाडीकन भारतसँग मित्रता कायम गर्ने कुरामा उहाँको जोड थियो। पञ्चशीलका आधारमा सन्तुलित परराष्ट्र सम्बन्ध अघि बढाउने र नेपालको सम्मान बढाउने कुरामा उहाँको ध्यान रहन्थ्यो।
पार्टीभित्रको गुटबन्दीमा उहाँको रुचि थिएन तर उहाँ जता लाग्नुहुन्थ्यो पल्ला त्यतैको भारी हुन्थ्यो। आफ्नो लोकप्रियता र सर्वस्वीकार्यतालाई उहाँले कहिले पनि आफ्नो स्वार्थका लागि प्रयोग गर्नुभएन। आफन्त कसैलाई पनि काखी च्याप्ने काम गर्नुभएन। कुनै पद र नियुक्ति दिनुभएन। कुनै आरोप नलागेको, भ्रष्टाचारको छिटै नपरेको, नातावाद वास्तै नगर्ने एउटा सफल र लोकप्रिय प्रधानमन्त्री तथा नेताका रूपमा उहाँ बाँचुन्जेल रहनुभयो।
जीवनको लामो कालखण्ड संघर्ष गरेर, पटकपटक जेल जीवन र अनेकौं अप्ठ्यारा सामना गरेर उहाँले विभिन्न अनुभव र अनुभूति सँगाल्नुभएको थियो। ती अनुभव र अनुभूतिले उहाँलाई परिपक्व, ज्ञानशील र विवेकशील बनाएको थियो।
मैले प्लास्टर फुटेको भुइँमाथि ओछ्याइएको थोत्रो खाटमा मैलो सिरक ओढेर बसेको मनमोहन अधिकारीलाई त्यति नजिकबाट देखेको थिइनँ, जति प्रधानमन्त्रीका रूपमा बालुवाटार र सिंहदरबारमा बसेको मनमोहन अधिकारीलाई देख्ने र बुझ्ने मौका पाएँ। मैले सांसद रहँदा आफ्नो संसदीय दलको नेताका रूपमा, प्रतिपक्षको नेताका रूपमा र प्रधानमन्त्रीका रूपमा अधिकारीसँग संगत गर्ने र संसद विघटनपछि प्रेस सल्लाहकारका रूपमा उहाँलाई सहयोग गर्ने भूमिका पाएँ।
सुरुमा भेट हुँदा उहाँले मप्रति जुन विश्वास र स्नेह दर्साउनुभएको थियो, त्यो पछिपछि झन् बढ्दै गयो। प्रधानमन्त्री भएर सत्ताको शिखरमा पुग्दा उहाँ एक्लो देखिनुहुन्थ्यो र सहज पनि। पार्टीका अरू नेता पार्टीभित्र शक्तिशाली देखिन्थे तर त्यो शक्ति उहाँको अग्लो व्यक्तित्वसामु कमजोर देखिन्थ्यो। उहाँ शक्तिहीनजस्तो देखिए पनि बेलाबेला सबैभन्दा शक्तिशाली देखिनुहुन्थ्यो र अरूका शक्ति उहाँको अग्लो व्यक्तित्वसामु निरीह बन्थ्यो।
अधिकारी सांसद, प्रतिपक्षको नेता प्रधानमन्त्रीभन्दा पनि एउटा उदारमना, सहज, स्वाभाविक र हृदयमा करुणा र चेतनामा विवेक भएको असल मानिस हुनुहुन्थ्यो। अहम्भाव थिएन, त्यसैले जो पनि उहाँसँग सहज भएर कुरा गर्न सक्थे।
अप्ठ्यारो र दुःख भोगिरहेको मनमोहन अधिकारी र सत्ता भोगिरहेको मनमोहन अधिकारी, दुवै अवस्थामा उहाँलाई नजिकबाट नियाल्ने मौका पाएँ, तुलना गर्ने अवसर पाएँ। उहाँले दुःखलाई हाँसीहाँसी पचाइदिनुभयो भने सत्तालाई जिम्मेवारीका रुपमा स्विकार्नुभयो।
यसो फर्केर हेर्दा दुःख पाइरहेको अवस्थामा उहाँ पीडित नेता र सत्ता भोगिरहेका बेला उन्मादी र अहंकारी शासक बन्नुभएन। बन्नुभयो त केवल मनमोहन अधिकारी– शान्त, शिष्ट र सरल। एउटा असल मानिस।


0 comments
प्रतिक्रिया दिनुहोस्...