-->
ठेक्का मिलाउने नाममा प्रतिस्पर्धा गर्न रोक

गोरखा: ठेकेदारको हितका लागि गठन भएको निर्माण व्यवसायी संघले ठेक्का मिलाएर व्यवसायीलाई प्रतिस्पर्धा गर्नबाट बञ्चित गर्ने गरेको छ । संघले ठेक्का मिलाउने नाममा प्रतिस्पर्धा गर्नबाट बञ्चित गर्ने गरेको असन्तुष्ट व्यवसायीले आरोप लगाउँदै आएका छन् ।
पश्चिमाञ्चल सिँचाइ सवडिभिजन कार्यालय गोरखाले हालै आह्वान गरेको ६ वटा प्याकेजको टेन्डर मिलाएर संघले सिन्डिकेटको पछिल्लो नमुना प्रस्तुत गरेको छ । चार करोड ५० लाखका विभिन्न प्याकेजको टेन्डरका लागि आवेदन फाराम बुझाउन निर्माण व्यवसायीभन्दा दुईगुना धेरै मुन्द्रे केटा समेत परिचालित थिए।
अन्त्यमा तीन प्याकेजका लागि एक एकवटा मात्र आवेदन पर्यो। बाँकी तीन प्याकेजका लागि पनि संघले नै आठवटा आवेदन दर्ता गराउने समझदारी बनायो। समझदारी गरेर प्रतिश्पर्धा गर्न खोजेका एक व्यवसायीको टेन्डर फाराम गैर व्यवसायी मुन्द्रे केटाले कार्यालयको ढोकैमा च्यातिदिए। फेरि भरेर आए, फेरि च्यातिदिए। तेस्रो पटक उनले प्रयास गरेनन्। प्रतिस्पर्धा नगरी ती टेन्डर फाराम स्वीकृतको प्रक्रियामा छन्।
फाराम किन्ने निर्माण व्यवसायीलाई संघका पदाधिकारीले ललाइफकाइ दर्ता नगराउन बाध्य बनाउने गरेका छन्।
स्रोतका अनुसार कुन प्याकेजमा कसले आवेदन गर्ने भन्ने विषयमा निर्माण व्यवसायी संघले नै 'सेटिङ' मिलाइसकेको थियो । सोही सहमति अनुसार ८५ लाख रुपैयाँको कुन्दुरटार सिँचाइ आयोजनाका लागि नौवटा आवेदन फाराम बिक्री भएकोमा जम्मा एक जनाको दर्ता भएको छ।
यस्तै ८७ लाख रुपैयाँको आर्खेतखोला मंगलटार सिँचाइ आयोजनाका लागि १३ वटा फाराम बिक्री भएकोमा एकजनाको मात्रै दर्ता भएको छ। ८६ लाखको बालुवाटार धावा सिँचाइ आयोजनाका लागि १० वटा फाराम बिक्री भएकोमा एक जनाकै आवेदन परेको कार्यालयले जनाएको छ।
यस्तै ४० लाखको तल्लो खरिबोट सिँचाइ आयोजनामा भने दुई जनाको आवेदन परेको छ। झोलुंगेफाँट किनारा संरक्षण आयोजनाका लागि ३४ वटा आवेदन फाराम बिक्री भएको थियो। तर जम्मा चार वटा मात्र दर्ता भएको छ। सोही शीर्षकको दोस्रो खण्डका लागि ३० वटा फाराम बिक्री भएकोमा दुईवटा मात्र दर्ता भएको सिँचाइ सब डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर लोकबहादुर थापाले जानकारी दिए।
फाराम किन्ने निर्माण व्यवसायीलाई संघका पदाधिकारीले ललाइफकाइ दर्ता नगराउन बाध्य बनाउने गरेको छ। यदि कसैले संघले बनाएको समझदारी उलंघन गर्ने प्रयास गरेमा सहमति बनेका व्यवसायी को पक्षमा परिचालित युवाले छेकथुन गर्छन्। अझै अटेर गरे भने भौतिक आक्रमणसमेत गर्ने गर्छन्।
कसरी एक एकवटा आवेदन दर्ता हुन आएको भन्ने आफूलाई औपचारिक जानकारी नभएको प्रमुख इञ्जिनियर लोकबहादुर थापा बताउँछन् । 'पृष्ठभूमिमा के भयो, हामीलाई थाहा हुँदैन' उनी भन्छन् 'आवेदन किनेर लाने सबैले दर्ता गरेनन् ।' प्रतिश्पर्धा नभई आएका सबै फाइलको अध्ययन समिति बनाएर अध्ययनको प्रक्रियामा रहेको उनले बताए।
प्रतिस्पर्धा नभए पनि टेन्डर स्वीकृत गर्न ऐन कानुनले दिएको उनले बताए। 'एउटा मात्रै दर्ता भए पनि सार्बजानिक खरिद ऐन २०६३ र सार्वजानिक खरिद नियमावली २०६४ अनुसार स्वीकृत गर्न ऐन, कानुनले बाटो खुला गरेको छ' उनले भने।
निर्माण व्यवसायी संघ भने ठेक्का मिलाएको स्वीकार गर्दैन। प्रश्पिर्धा नभएको बारे सार्वजनिक हुँदा सन्देश राम्रो नजाने भन्दै संघले स्वतस्फूर्त एउटा मात्र ठेक्का आवेदन परेको जानकारी दिनेगर्छ। 'व्यवसायीले चाहे भने प्रतिश्पर्धा गर्छन् ,चाहेनन् भने गर्दैनन्' संघका महासचिव होमबहादुर बानियाँ भन्छन् 'संघले मिलाउने कुनै प्रयास गर्दैन।'


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.