सिन्धुली । सिन्धुली सितलपाटीका किशोर–किशोरी निर्धक्क यौनका कुरा गर्न लजाउँदैनन् । सितलपाटी स्वास्थ्य चौकीमा किशोर–किशोरीमैत्री छुट्टै कक्षको स्थापना गरी परामर्श दिन थालेपछि माध्यमिक र उच्च माध्यमिक तहमा अध्ययनरत किशोर–किशोरी खुलेर यौन एवम् किशोरावस्थामा शरीरमा हुने परिवर्तनका विषयमा कुरा गर्न थालेका हुन् ।
स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)को सहकार्यमा सितलपाटी स्वास्थ्य चौकीमा विद्यालयको दिउँसोको खाजा समयमा एक घन्टे प्रजनन स्वास्थ्य सेवा थालेपछि यहाँका किशोर–किशोरीमा परिवर्तन देखिएको हो । आइतबारदेखि बिहीबारसम्म दिउँसो १ः०० देखि २ः०० बजेसम्म किशोर–किशोरीलाई छुट्टै कक्षमा राखी यौन तथा प्रजनन शिक्षा दिइन्छ । शुक्रबार विशेष कार्यक्रम गरिने जिल्लामा युएनएफपिएको कार्यक्रम संयोजन गरिरहनुभएका सञ्जय शर्मा बताउनुहुन्छ ।
स्वास्थ्य महाशाखाले युएनएफपिएसँगको सहकार्यमा सिन्धुली, प्यूठान, अछाम, बझाङ र सुनसरीमा केन्द्र नै खोलेर यो कार्यक्रम सुरु गरेको छ । “विविध कारणले यौन र प्रजननका समस्या अभिव्यक्त गर्न नसकेकालाई प्रोत्साहित गर्न छुट्टै कोठा, ट्वाइलेट र विद्यालय नजिकको स्वास्थ्य चौकीलाई छानेर केन्द्र स्थापना गरी कार्यक्रम चलाइएको हो” – उहाँले भन्नुभयो ।
युएनएफपिएले विसं २०६८ (सन् २०१२) मा जिल्लाका छ गाविसमा किशोर–किशोरीमैत्री कार्यक्रम थाल्यो । कार्यक्रम विस्तार गर्ने क्रममा युएनएफपिएको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले १८ गाविसका स्वास्थ्य संस्थामा कार्यक्रम लागू गरेको छ । केही गाविसमा थपिने क्रममा छ ।
जिल्लाका सितलपाटी, बासेश्वर, भुवनेश्वरी, प्वाङ्स्वाङ, बेलघारी, सिरथौली, कपिलाकोटलगायत गाविसमा सो कार्यक्रमले किशोर–किशोरीमा सकारात्मक परिवर्तन ल्याएको छ । कार्यक्रमको सुरुमा चुनौती नआएका भने होइनन् ।
रानीटारकी विनिनता कोइराला सुरुवाती दिनमा किशोर–किशोरीमैत्री कार्यक्रममा सहभागी हुँदा आमाले छोरी बिग्रिई भनी गुनासो गरेको सम्झनुहुन्छ । विषय अश्लीलजस्तो लागे पनि कार्यक्रमले विनितामा सकारात्मक प्रभाव परेपछि आमा खुसी हुनुहुन्छ ।
“सुरुमा मलाई गाली गर्ने आमा कार्यक्रमको सकारात्मक प्रभावबाट प्रभावित भएर कार्यक्रममा सहभागी हुन थाल्नुभएको छ”, विनिताले भन्नुभयो – “कार्यक्रममा सहभागी युवा विकृतिमा लाग्लान् भनेर डराएका अभिभावकलाई नै कार्यक्रममा सहभागी किशोर– किशोरीले कुलतबाट छुटाएका उदाहरण हाम्रो गाउँमा छ ।”
कार्यक्रममा सहभागी युवाको पहलमा जिल्लामा बाल विवाह रोकिएको छ । विद्यालय छोडेर कुलत उन्मुख भएका बालबालिका पनि फेरि विद्यालय फर्र्किन थालेका छन् । किशोर वयश्कमा हुने शारीरिक परिवर्तन र यौनका कुरा लुकाएर होइन, जानकारी गराएर गलत बाटोबाट सही मार्गमा हिँडाउन सकिन्छ भन्ने प्रमाणित भएको युवा सञ्जाल सिन्धुलीका अभियन्ता जनक विक बताउनुहुन्छ ।
जनचेतना जगाउने अभियानमा संलग्न युवालाई सङ्गठित गरेर जिल्लाका ४१ गाविसमा युवा सञ्जाल बनाइएको छ । सञ्जालले किशोर–किशोरीमा उमेर परिवर्तनका समयका समस्या समाधान गर्नेदेखि भूकम्प, आगलागीजस्ता प्राकृतिक प्रकोपका समयमा पीडितलाई राहत वितरणमा समेत सहयोग गर्छ ।
स्वास्थ्य चौकीमा किशोरभन्दा धेरै किशोरी कार्यक्रममा सहभागी भएको अभिलेख छ । देशभर लागू युवामैत्री स्वास्थ्य संस्थामध्येमा सितलपाटीले सबैभन्दा बढी अङ्क पाएर उत्कृष्ट बनेको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
स्वास्थ्य चौकी सितलपाटीकी अहेब सङ्गीता सिन्हा (मण्डल) किशोर–किशोरी एचआइभी एड्स र तल्लो पाठेघर दुख्ने समस्या लिएर आउने गरेको सुनाउनुहुन्छ ।
सुरुमा किशोर–किशोरी कक्षमा समस्या राख्न लजाउने युवा अहिले निर्धक्क आफ्ना समस्या राख्न थालेका छन् । यसले उनीहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव परेको छ । उहाँले भन्नुभयो – “पहिले पहिलोपटक महिनावारी हुँदा किशोरीमा त्रास अनुभव हुन्थ्यो, अहिले त्यो उमेरका किशोरीमा युवामैत्री कक्षको शिक्षाको प्रभावले त्रासको समस्या हटेको छ ।”
दीर्घप्रदीप उच्च माध्यमिक विद्यालय सितलपाटी–९ खाल्टेमा कक्षा १० मा अध्ययनरत १४ वर्षीय किशोरी यमुना श्रेष्ठ कक्षा ६ देखिकै किशोर–किशोरी निर्धक्क आफ्ना समस्या लिएर स्वास्थ्य चौकीको युवामैत्री कक्षमा जाने गरेको बताउनुहुन्छ ।
“अधिकांश किशोरीको समस्या महिनावारी, तल्लो पेट दुख्ने, टाउको दुख्ने, रिङ्गटा लाग्नेलगायत हुन्छ, युवामैत्री स्वास्थ्य संस्थाको कक्षमा गई परामर्श लिएपछि किशोरीमा खुसीसाथ जीवनयापन गर्ने शक्ति मिलेको अनुभव गरेकी छु” – उहाँले भन्नुभयो ।
किशोर–किशोरीमैत्री कार्यक्रममा सहभागी भएका युवा–युवतीले किशोरावस्था पार गरेपछि मैत्री केन्द्रमा गएर पछिल्लो पुस्ताकालाई तालिम दिने क्रमसमेत सिन्धुलीबाट सुरु भएको छ । बासेश्वर गाविसका मनिष कोइराला र त्रिशूल कोइराला अहिले आफूभन्दा पछिल्लो पुस्ताका किशोर–किशोरीलाई आफ्ना अनुभव सुनाइरहनुभएको छ ।
“स्वास्थ्यकर्मीसँगभन्दा उमेर समूह मिल्नेसँग किशोर–किशोरी बढी खुल्ने भएकाले हामीले एकापसमा धेरै कुरा छलफल गर्न पाएका छौँ, हाम्रो अनुभवका आधारमा भाइबहिनीलाई सही मार्ग डो¥याउन पाएकामा गौरव लागेको छ” – मनिष कोइरालाले भन्नुभयो ।
देशभर ७२ जिल्लाका एक हजार १३४ स्वास्थ्य संस्थामा भने किशोर–किशोरी मैत्री सेवा सुरु भएको युएनएफपीएका पैरवी एवम् सञ्चार अधिकृत सन्तोष क्षेत्रीले जानकारी दिनुभयो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...