एजेन्सी– घामबाट भिटामिन डी प्राप्त हुने भएकाले स्वास्थ्य विज्ञहरुले घाममा बस्न सल्लाह दिने गरेको पाइन्छ । तर, लामो समयसम्म घाममा बस्दा शरिरको भिटामिनको तह न्यून गर्ने एक नयाँ अध्ययनले देखाएको छ । लामो समयमसम्म घाममा बस्ने र घामका कारण छाला डढेका मानिसहरुमा भिटामिन डीको समेत कमी हुने अनुसन्धानकर्ताहरुले खुलासा गरेका छन् ।
घामले डढ्दा हुने खैरो रंगले छालामा पोषण तत्वहरुको उत्पादनलाई रोकिदिने उनीहरुको भनाई छ ।
स्वस्थ हड्डीका लागि शरिरमा भिटामिन डी नभइ नहुने तत्व हो । भिटामिन डीको कमीले हड्डी नरम तथा कमजोर बनाउने र हड्डी भाँचिने लागायतका समस्या उत्पन्न हुन्छ । बालबालिकामा भिटामिन डीको कमीले स्कर्भीको समस्या ल्याउँछ भने प्रौढमा हड्डी दुख्ने समस्या आउँछ । भिटामिन डीका लागि तेलीय माछा, मासु र अन्डा लगायतका केही खानेकुरा खाने गरिए पनि हाम्रो छालाले भने घाममा बस्दा सिधै सूर्यबाट त्यस्तो भिटामिन पाउँछ । सन् २०१० को ब्रिटिश मेडिकल जर्नल क्लिनिकका अनुसार भिटामिन डीको कमीले मुटुरोग, बाउल तथा स्तन क्यान्सर र डायबिटिजको समस्या उत्पन्न हुन्छ । तर, अत्यधिक घामका कारण शरिरमा केही असर त गर्दैन भन्ने विषयमा पनि वैज्ञानिकहरुको ध्यान गएको थियो ।
जसअनुसार युनिर्भसिटी अफ पर्नामबुको मेडिकल स्कुलका अनुसन्धानकर्ताहरुले घामले छाला डढेका मानिसहरुमा भिटामिनको कमी छ वा छैन भन्ने विषयमा जान्न खोजेका थिए । सोही अनुसार उनीहरुले १३ वर्षदेखि ८२ वर्ष समूहका ब्राजिलका मानिसहरुको बारेमा अध्ययन गरेका थिए । उनीहरुलाई सनस्किनको प्रयोग नगरी वा भिटामिन डी नखाई दैनिक रुपमा घाममा बस्न भनिन्थ्यो । सहभागीको छालाको प्रकार र रंगको दर मापन गर्न वैज्ञानिकहरुले फिजप्याट्रिक स्केल प्रयोग गरेका थिए । त्यसपछि उनीहरुले विभिन्न प्रकारको छाला घाममा पाइने विकिरणसँग कस्तो प्रतिक्रिया जनाउँछ भन्ने विषयमा अध्ययन गरेका थिए ।
अध्ययनमा सहभागी गराइएका ७२ प्रतिशत मानिसमा भिटामिन डी कमी भएको पाइएको थियो । यसरी भिटामिन कमि हुने मानिस घाममा थोरै समय बस्ने गरेका थिए । तर, अर्कोतर्फ घाममा धेरै समय बस्ने मानिसमा झनै भिटामिन डीको कमी पाइएको थियो । युनिभर्सिटी अफ पर्नामबुको मेडिकल स्कुलले गरेको सो अध्ययन अनुसार अत्यधिक घाममा बस्दा डढेको छालाको रंगले रगतमा भिटामिन डीको तहलाई रोकिदिएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...