काठमाडौँ, २७ चैत । विश्व मानचित्रमा लगभग एक्लिएजस्तो देखिने उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणको कार्यलाई विश्वका नेताहरुले हठको सङ्ज्ञा दिएका छन् । यो हठले विश्वमा शान्ति खल्बलाउने भन्दै चिन्ता बढाएको धारणा उनीहरुको छ । दुई हप्तामात्र अघि संयुक्त राज्य अमेरिकामा भएको आणविक विषयको सम्मेलनमा यस्तै प्रतिक्रिया विश्वका नेताहरुले व्यक्त गरे ।
त्यस सम्मेलनमा विश्वका ५० भन्दा बढी देशका नेताको सहभागिता थियो । उनीहरुको चिन्ता पनि उत्तर कोरियाले हालैका दिनमा जारी राखेको आणविक परीक्षणमा केन्द्रित थियो । उनीहरुले उत्तर कोरियाको यस कार्यलाई हठको संज्ञा दिएका छन् । विश्वले नै बारम्बार आग्रह गर्दापनि उसले आणविक परीक्षणको काम नरोक्नुलाई हठबाहेक अरु केही भन्न नसकिने उनीहरुको भनाइ छ । तर उत्तर कोेरिया भने उनीहरुका विरुद्ध खनिन छोडेको छैन । उसले गतहप्ता एक उत्तेजक भिडियो बनायो वासिङ्टनमा बम हानेको । त्यस्तै दुई दिनअघि पनि दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयमा हानेको अर्काे त्यस्तै प्रचारक भिडियो बनाएको थियो । जसलाई संसारले नै निन्दा पनि गरेको छ ।
शुक्रबार उत्तर कोरियाका एकजना उच्च अधिकारीले निकै नै आपत्तिजनक शब्दमा दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हाईलाई गालीगलौज गरे । जुन शब्द यति आपत्तिजनक छ कि त्यसले हाईको मानहानी गरेको स्पष्ट देखिन्छ । तर यसप्रति दक्षिणले भने त्यस्तो कुनै आक्रामक प्रतिक्रिया दिने गरेको छैन ।
विश्वका प्रायः देशसँग राम्रो सम्बन्ध नभएको देश उत्तर कोरियाले पछिल्लो समयमा किन यस्तो उत्तेजक कार्य र प्रचार गर्ने गरेको हो भन्ने उत्सुकताको विषय हो । बारम्बार आणविक परीक्षण गर्दै विश्वसामू आफ्नो शक्ति प्रदर्शन गर्ने देश उत्तर कोरिया गएको केही समययता त निरन्तर रुपमा नै आणविक परीक्षण गरेको छ ।
आणविक परीक्षणको कारण नै उत्तर कोरियालाई पछिल्लो समयमा अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले नाकाबन्दी लगाएका छन् । तर उसले भने सो नाकाबन्दीको विरोधगर्दै पुनः परीक्षणको तयारीसमेत गरेको छ । बारम्बाारको यस परीक्षणले भाषा, संस्कृति र रगतको नातासमेत रहेको दुई कोरियाबीचको सम्बन्ध पनि झनै बिग्रिदो अवस्थामा रहेको छ । उत्तर कोरियाको कुनैपनि परीक्षणका विरुद्धमा आफूहरु तयारी अवस्थामा रहेको पनि दक्षिण कोरियाले दाबी गर्ने गरेको छ । उत्तर कोरियाले गत फेब्रुअरी ६ मा गरेको लामो दूरीको रकेट परीक्षणपछि निरन्तर रुपमा व्यालेस्टिक क्षेप्यास्त्रसमेत परीक्षण गरेको थियो ।
सन् १९५३ मा दुई कोरिया छुट्टिएपछि देशसँगै आफन्तहरु पनि छुट्टिएका छन् । दुई देशबीच बेलाबखतमा यी आफन्तको मेलमिलाप भएको दृश्यले विश्वको कुनै पनि स्थानमा बसोबास गरिरहेका व्यक्तिको हृदय छुने गरेको पाइन्छ । बाबु छोरा, दिदीबहिनी, भाईभाईको नाता रहेको यी दुईदेशलाई आणविक परीक्षणले आपसमा झन् शत्रुता थपिरहेको छ । यसले आपसमा झन् बेमेलको स्थिति पैदा गर्ने गरेको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा र संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको घोषणा गर्नुभएको छ । लामो दूरीको रकेट परीक्षणपछि सबैभन्दा बढी विरोध गर्ने दुई राष्ट्र दक्षिण कोरिया र अमेरिका हुन् । यी दुई देशले पनि उसका विरुद्धमा नाकाबन्दी घोषणा गरेका छन् । गत फेब्रुअरी ६ बाट उत्तर कोरियाले लामो दूरीको रकेट परीक्षण गरेपछि सुरु भएको विवाद हाल विश्वव्यापी बनेको छ । यसका कारण दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिका एक भएका छन् र उनीहरुले उत्तर कोरियाविरुद्धको नाकाबन्दीका लागि संयुक्त राष्ट्रसङ्घलाई सघाएका हुन ।


0 comments
प्रतिक्रिया दिनुहोस्...