-->
सम्भावनै सम्भावनाको जिल्ला लमजुङ

बेसीसहर महोत्सव विशेष
लमजुङ सदरमुकाम बेसीसहर धार्मिक, पर्यटकीय, ऐतिहासिक र व्यावसायिक दृष्टिबाट निकै अगाडि छ । हिमालको काखैमा रहेको बेसीसहर विश्वबिख्यात अन्नपूर्ण पदमार्गको प्रवेशद्वारमा पर्छ । कलकल गर्दै नागबेली आकारमा बगेको मस्र्याङदी नदीले बेसीसहरको सुन्दरतालाई झनै बढाइदिएको छ।
साविकको बेसीसहर, गाउँसहर, उदीपुर, चण्डिस्थान, पुरानोकोट र नाल्मा गाभिएर एउटै नगरपालिका बनेपछि यस नगरमा विकासले गति लिएको छ। दीर्घकालीन र अल्पकालीन रूपमा विकासका योजना निर्माण हुने क्रम बढ्न थालेका छन्। नयाँनयाँ अवसर र सम्भावनाको ढोका खुल्न थालेका छन्। लमजुङ जिल्लाको सीमाना पूर्वमा गोरखा, पश्चिममा कास्की, दक्षिणमा तनहुँ र उत्तरमा मनाङ जिल्ला पर्दछन्। २ निर्वाचन क्षेत्र, ११ इलाका, ५ नगरपालिका र ३४ वटा गाविस छन्। बेसीसहर जिल्लाको पहिलो नगरपालिका हो । हिमालदेखि तराईसम्मको विशेषता यहाँ भेट्न सकिन्छ।
बेसीसहरमा व्यापारिक दृष्टिकोणले नेवारको बाहुल्यता रहेपनि यहाँ बसोबास गर्नेमा गुरुङ समुदाय बढी छन्। गुरुङको उद्गमस्थल पनि लमजुङ जिल्लामानै पर्छ। घाटु, सोरठी लगायतका जीवन्त संस्कृति गुरुङ गाउँमा भेटिन्छ।
गुरुङको घनाबस्ती, चालचलन, भेषभूषा र संस्कृति पर्यटक आकर्षण गर्ने माध्यमका रूपमा स्थापित भइरहेका छन्। नेपाललाई चिनाउने साँस्कृति मध्ये दोहोरी गीतको उद्गम स्थलका पनि यस जिल्लालाई लिइन्छ। भेडिखर्के साँइला अर्थात दीर्घराज अधिकारीको ठाडो भाकाले लमजुङलाई थप चिनारी दिएको छ।
पश्चिम क्षेत्रमा पर्ने ईशानेश्वर महादेव धार्मिक दृष्टिकोणबाट पशुपतिनाथ पछिको दोस्रो ठुलो धार्मिकस्थल भएपनि अझै ओझेलमा छ। ग्रामीण पर्यटनको महत्व बढेसँगै जिल्लामा पनि ग्रामीण पर्यटकीय गाउँको संख्या बढ्न थालेका छन्। सार्कराष्ट्रकै नमुना घलेगाउँ, राईनासकोट, सिउरुङ, खासुर घनपोखरा, भुजुङ, लगायतका गाउँ ग्रामीण पर्यटकीय गाउँका रूपमा चिनिन थालेका छन्।
सुन्दर घलेगाँउ सार्क भिलेजका रूपमा संसारभर परिचित बनिसकेको छ। राइनासकोट, गाउँसहर, चेपेघाट, सिन्दुरेढुंगा, दूधपोखरी, सुन्दर पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न अगाडि बढिरहेका छन्। यहाँका दूधपोखरी, बाह्रपोखरी, मेमे पोखरी, इलमपोखरी जस्ता मनमोहक ताल पर्यटकीय दृष्टिकोणबाट अति नै महत्वपूर्ण मानिएका छन्।
बेसीसहरमा रहेको तमु संग्राहलय र त्यहाँ स्थापना गरिएको स्वर्गीय डा. हर्क गुरुङको प्रतिमा स्थापनाले जिल्लाको गौरब झनै बढाएको छ । बाहुनडाँडा र ताघ्रिङको जगतमा रहेको तातोपानी कुण्ड आर्कषक पर्यटकीय केन्द्रका रूपमा विकास भइरहेको छ।
बेसीसहरबाट सुरु भई, उत्तरकन्या, घनपोखरा, भजुङ, पसगाँउ हुँदै कास्कीको मिजुरे निस्कने गुरुङ सम्पदा पदमार्गलगायत यहाँ आधा दर्जनभन्दा बढी रमाइला पदमार्ग छन् । खुदीको ढंगैलाई पनि पर्यटकीय गन्तव्य बनाउनका लागि यहाँका पर्यटन व्यवसायी लागीपरेका छन्। जिल्लामा साहसिक पर्यटकका लागि समेत क्यानोनिङ र रकक्लाइबिम्ङको राम्रो सम्भावना छ।
जिल्लामा मात्रै होइन बेसीसहर नगरपालिका स्वयं पनि पर्यटनमा निकै अगाडि छ। गाउँसहरस्थित ऐतिहासिक पुरातात्विक महत्व बोकेको लमजुङ दरबार बेसीसहर नगरपालिका भित्रै पर्छ। बाईसे चौबीसे राज्यकालमा एउटा शक्तिशाली राज्यका रूपमा चिनिएको लमजुङ सोही दरबारमा बसेर राजा यशोब्रह्म शाहले शासन गर्थे।
इतिहासका विद्यार्थी र इतिहासमा रुचि भएका व्यक्तिका लागि राम्रो पर्यटकीय सम्भावना बोकेको छ, लमजुङ दरबारले। सदरमुकाम बेसीसहरबाट पैदल १ घण्टा र सवारीसाधनमा आधा घन्टा पार गरेपछि लमजुङ दरबारहुँदै काउलेपानी पुगिन्छ। त्यहाँ पुग्ने जो कोही पर्यटक पनि स्थानीयको स्वागत, सत्कार र न्यानो आतिथ्यतामा रमाइहाल्छन्।
स्थानीय उत्पादनका परिकार, बाह्रैमास हुने पर्यटकीय प्याकेज र हिम शृंखलाको मज्जा लिन हजारौं पर्यटक काउलेपानी पुग्छन्। दैनिक ९ सय ९० रुपैयाँको प्याकेज रेहेको काउलेपानीमा बेसीसहर महोत्सवका लागि १० प्रतिशत छुट दिएको काउलेपानी पर्यटन व्यवस्थापन समितिका संयोजक देवबहादुर गुरुङले बताए।
नेवार र गुरुङ समुदायको निकै आर्कषक संस्कृति भेट्न सकिन्छ काउलेपानीमा। काउलेपानीबाट करिब आधा घन्टा पैदलयात्रा गरेपछि त्यस यात्रामा देखिने सुन्दर दृश्यले मनलाई तानीहाल्छ।पुरानोकोटको गढीबाट प्रकृतिको सुन्दरतालाई नजिकैबाट नियाल्न सकिन्छ।
मलामीचौरमा पार्क निर्माण योजना क्रमिक रूपमा अघि बढ्दैछ। उदीपुरको कालिका मन्दिर र अकला मन्दिर, बेसीसहरको करपुरेश्वर महोदेव मन्दिर, लक्ष्मीनारायण मन्दिर, चण्डीडाँडामा अवस्थित ह्योल्सो ह्यो गुम्बा लगायतका स्थलले पर्यटनको विकासका लागि सघाएका छन्।
विभिन्न स्थानमा रहेका मठ मन्दिर, मस्जिद र चर्च समेत यस क्षेत्रको अमूल्य निधि हुन्। धार्मिक र जातीय रूपमा यहाँका बासिन्दा फरकफरक रहेपनि सबैबीच धार्मिक सहिष्णुता भेट्न सकिन्छ।
उच्च पहाडी क्षेत्रमा पशुपालन, पहाडी क्षेत्रमा फलफूल तथा तरकारी र समतल क्षेत्रमा खेतीयोग्य भूमि छ। विश्वबिख्यात अन्नपूर्ण पदयात्रा वेसीसहरबाट सुरु हुन्छ।
यो मार्गमा बर्सेनि १८ देखि २० हजारसम्म पर्यटक आउन थालेपनि भूकम्प र भारतीय नाकाबन्दीका कारण पर्यटकको संख्या विगतका वर्षभन्दा कम देखिन थालेको छ । लमजुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं पर्यटन व्यवसायी भेषबहादुर पौडेल भन्छन, 'संसारभर फैलिएको गलत सन्देश चिर्न सके अन्नपूर्ण क्षेत्रमा अझै पर्यटकको आगमन बढ्छ।' बेसीसहर नगरपालिका भित्रनै पर्ने नाल्मा बाख्रेजगतस्थित शितलेस्वाँरा हवाईमैदान अलपत्र अवस्थामा छ।
यसलाई सञ्चालनमा ल्याउन सके बेसीसहर नगर मात्र हैन जिल्लाकै समग्र विकासमा सहयोग पुग्नेछ।लमजुङको पर्यटन क्षेत्रलाई थप उचाइ दिन पर्यटनमा आधारित उद्यम विकास सम्भाव्यता अध्ययन टोलीद्वारा विभिन्न पर्यटन पदमार्ग निर्माणको प्रस्ताव अगाडि सारिएको छ।
सम्भाव्यता अध्ययन टोलीले अन्नपूर्ण संरक्षण क्षेत्र अन्र्तगत घनपोखरा-घोप्टे-जिम्दु-सिउरुङ मार्ग र बेसीसहर बागलुङपानी-घलेगाउँ पदमार्गको पहिचान गरेको छ। यस्तै बेसीसहर-बिचौर-दूधपोखरी मार्ग र बेसीसहर-भोटेओडार-जोर्ने-बिचौर-दूधपोखरी मार्ग पनि प्रस्ताव गरिएको अर्को पदमार्गका रूपमा रहेको छ।
सम्भाव्यता अध्ययन टोलीले बराहपोखरी-मेमेपोखरी मार्गका रूपमा पाँचवटा विकल्प प्रस्तुत गरेको छ। अध्ययन टोलीले देखाएको बाटोमा बेसीसहर-फलेसाँघु-चिती-हिलेटक्सार-बराहपोखरी-मेमेपोखरी-कोम्रोडाँडा-भिरपुस्तुन-बाहुनडाँडा रहेका छन्। यस्तै अन्य मार्गहरू पनि छन्।
अनेकौं सम्भावना बोकेका यी क्षेत्रहमा योजनाबद्ध रूपमा, जिल्ला र केन्द्रीय सरोकारवालाले ध्यान दिएर काम गर्न सके लमजुङको पर्यटनमा कायापलट गर्न सकिने अवस्था छ । तर, बनाइएका योजना र गुरुयोजना कागजको ठेलीमा मात्र सीमिति हुँदा अझै भनेजति र सोचेजति प्रगति हुन सकेको छैन्।
जलस्रोतको प्रचुर सम्भावना बोकेको यो जिल्लामा विद्युत् उत्पादनका लागि विभिन्न आयोजना तीव्र गतिमा अघि बढिरहेका छन्। ७० मेगावाट क्षमताको नेपालकैे दोस्रो ठूलो मध्यमस्र्याङदी जलविद्युत् परियोजना लगायतका ठूला र लघु जलविद्युत् आयोजना जिल्लामा थुप्रै छन्।
जलविद्युत्को राम्रो सम्भावना रहेको लमजुङ -लोडसेडिङ' मुक्त जिल्ला समेत हो। सुन्तला, अलैंची, कफी, मह, चिया जस्ता कृषि उत्पादनका लागि उर्वर थलोको रूपमा पनि बेसीसहर नगरपालिका चिनिन थालेको छ। यार्सागुम्वा, पदमाञ्चल, निरमसी, जटामसी, पाँचऔले, लोठसल्ला, कुट्की, सुगन्धवाल, जिवन्ती, पिप्ला, चिराइतो, सतुवा, कुकुर तरुल, पाखणभेद, नागबेली जस्ता महत्वपूर्ण र दुर्लभ जडीवुटी समेत यहाँ पाइन्छ। तर, त्यसको खोजी र आवश्यक प्रर्बद्धनात्मक कार्यको भने खाँचो देखिन्छ।
प्रमुख व्यापारीक केन्द्रका रूपमा पनि बेसीसहरले आफ्नो चिनारी बनाएको छ। लगानीमैत्री वातावरण बनेसँगै यहाँ निजी क्षेत्रबाट थुप्रै बैंक तथा वित्तीय संस्था, हस्पिटल, र उद्योग सञ्चालन भइरहेका छन्। मोटरबाटो सञ्चालनमा आएसँगै हिमालपारीको जिल्ला मनाङको माग समेत बेसीसहरको बजारले धान्दै आएको छ। बेसीसहरमा शिक्षाको क्षेत्रमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएका संस्था छन्।
'लाइब्रेरिज पावरिङ डेभलपमेन्ट' शीर्षकमा लक्ष्मीनारायण सामुदायिक पुस्तकालय संसारभरका दशवटा सामुदायिक पुस्तकालयमा सुचिकृत भएको छ। जीवनपर्यन्त शिक्षाका लागि लमजुङ र राष्ट्रकै नमुना पुस्तकालयका रूपमा लक्ष्मीनारायण पुस्तकालयले आफ्नो चिनारी बनाएको पुस्तकालयका अध्यक्ष गणेश न्यौपाने बताउँछन्। सदरमुकाम बेसीसहरम नै रहेको मस्र्याङदी बहुमुखी क्याम्पसमा स्नातकोत्तर सम्मको पढाइ हुन थालेको छ।उच्च शिक्षा लिन काठमाडौं पोखरा धाउनु पर्ने बाध्यता हट्न थालेको छ।
बेसीसहर महोत्सवमा के छ विशेष
सामाजिक गतिविधिको सुरुवात
कृष्णजंग गुरुङ
संयोजक,मूल आयोजक समारोह समिति
अन्य इकाइले आआफ्ना गतिविधि गरिसक्दा पनि बेसीसहर इकाइ भने ओझेलमा परिरह्यो । सामाजिक गतिविधिको सुरुवातका लागि पहिलोपटक बेसीसहर महोत्सवको आयोजना गरेका हौं । महोत्सवले व्यापार, व्यवसाय, स्थानीय कला, संस्कृति र पर्यटन प्रर्बद्धन गर्नमा टेवा पुर्याउने अपेक्षा गरेका छौं । महोत्सवले भूकम्प र भारतीय नाकाबन्दीका कारण थला परेको व्यवसायलाई माथि उकास्न टेवा पुर्याउनेछ भन्ने विश्वास लिएको छु।
जिल्लाको विकासमा सघाउनेछ
शेखर पौड्याल, स्थानीय विकास अधिकारी
जिल्ला विकास समिति, लमजुङ
हाम्रो तुलनात्मक प्रतिश्पर्धी क्षमताका दृष्टिले पर्यटन एउटा प्रबल सम्भावना बोकेको क्षेत्र हो । त्यसमा पनि विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गको काखमा अवस्थित बेसीसहर महोत्सवले यस जिल्लाको मात्र नभइ यस क्षेत्रकै पर्यटनको प्रबद्र्धनमा योगदान पुर्याउनेमा विस्वस्त छु । यस महोत्सवले जिल्लाको ग्रामीण पर्यटन, कृषि, जडीबुटी, पशुपालन, जलविद्युत् सम्भावना, पदयात्रा, पर्वतारोहण जस्ता क्षेत्रको योजनाबद्ध विकासबाट जिल्ला र राष्ट्रकै आर्थिक सामाजिक क्षेत्रमा योगदान पुर्याउन सक्ने विश्वास लिएको छु ।
आर्थिक गतिविधि बढाउनेछ
भेषबहादुर पौडेल,
नि.अध्यक्ष लमजुङ उद्योग वाणिज्य संघ
वैशाख १२ र त्यसयताका भूकम्पले सबै क्षेत्रका व्यापार व्यवसाय चौपट भएका छन् । त्यसैमाथि थपिएको भारतीय नाकाबन्दीका कारण निकै मार खेपीरहेका व्यवसायीलाई महोत्सवले केही सहयोग गर्नेछ। महोत्सवले जिल्लामा आर्थिक गतिविधि बढाउनेछ । स्थानीय, कला संस्कृति, पर्यटनका साथै सम्भावनाको उजागर महोत्सवमार्फत हुनेछ भन्ने विश्वास लिएको छु। साथै यस क्षेत्रको पर्यटन सुरक्षित छ भन्ने सन्देश, लगानीमैत्री वातावरणको सन्देश र स्थानीयलाई पूर्ण मनोरञ्जन दिनेछ भन्ने विश्वास लिएको छु।
व्यावसायिक मन्दी चिर्नेछ
रामकुमार श्रेष्ठ
अध्यक्ष, लमजुङ,उद्योग वाणिज्य संघ
भूकम्प र भारतीय नाकाबन्दीका कारण जिल्ला व्यापीरूपमा महोत्सव आयोजना गर्न असहज बन्यो। बेसीसहर क्षेत्रको विकासका लागि यहाँका उद्यमी, व्यवसायीहरूको सक्रियतामा हुन लागेको प्रथम बेसीसहर महोत्सवले व्यावासयिक मन्दीलाई चिर्नेछ भन्ने विश्वास लिएको छु।महोत्सवले सामाजिक कार्यसँग जोडिएर समाजका आवश्यक कार्यहरू पूरा गर्नुका साथै पशु, कृषि, घरेलु उद्योग, लोकसंस्कृति र ग्रामीण पर्यटनको प्रर्बद्धन गर्न सघाउनेछ।
वातावरणमैत्री नगरपालिका बनाउन सघाउनेछ
डिकबहादुर कार्की
कार्यकारी अधिकृत,बेसीसहर नगरपालिका
बेसीसहर नगरपालिकालाई स्वच्छ, सफा, हराभरा, ऐतिहाँसिक, पर्यटकीय, व्यावसायिक, कृषि र वातावरणमैत्री नगरपालिका बनाउन प्रथम बेसीसहर महोत्सवले प्रचार प्रसार गरी लक्ष्य प्राप्तिका लागि सहयोग पुर्याउनेछ। साथै यस नगरको सौन्दर्य जोगाउन र सुरक्षित स्थलकारूपमा भूकम्प प्रतिरोधात्मक भौतिक संरचनाको निर्माण गर्न र मापदण्ड अनुकूलको विकास गर्न सबै जिल्लावासीलाई सकारात्मक सन्देश दिनेछ।
महोत्सवलाई सभ्य, भव्य बनाइनेछ
राजेश थापा,संयोजक
कार्यक्रम संयोजन तथा समन्वय उपसमिति
महोत्सवलाई सभ्य, भव्य र मनोरञ्जनमूलक बनाउन सांस्कृतिक माहोल बनाइएको छ। महोत्सवमा बालउद्यान, टिपिकल खाना, व्यावसायिक स्टल, कृषि पशु, दुर्लभ खालका बन्यजन्तुको अवलोकन लगायतका थुप्रै कार्यक्रमको व्यवस्था मिलाइएको छ।
ज्ञानमूलक, शिक्षामूलक आईटी कन्फ्रेन्स आयोजना गरीनेछ। स्थानीय स्तरका प्रतिभाहरू प्रष्फुटन गर्नुका साथै राष्ट्रिय कलाकारले भव्य प्रस्तुत गर्नेछन्।
महोत्सवमा सीसीटीभीका लागि कार्यशाला गोष्ठी, होमस्टे सूचना केन्द्र लगायतका महत्वपूर्ण कार्यक्रम बनाइएको छ। महोत्सवको उद्देश्य पूरा गर्नका लागि यस्ता कार्यक्रमहरू उपयोगी हुने विश्वास छ।
सकारात्मक सन्देश प्रबाह गर्नेछ
मृगेन्द्र घिमिरे,संयोजक
अनुगमन तथा स्थल व्यवस्थापन उपसमिति
थलिएको अर्थतन्त्रलाई उजागर गर्न महोत्सवको आयोजना गरिएको हो। यो महोत्सवले लमजुङको पर्यटकीय क्षेत्रहरू सुरक्षित रहेको सन्देश राष्ट्रिय एवं अन्तर्राष्ट्रिय तहसम्म पुग्नेछ भन्ने विस्वास लिएको छु। महोत्सव हरेक दृष्टिकोणबाट उपयुक्त स्थलमा आयोजना भएको छ। महोत्सवमा व्यावसायिक सहित १ सय ६५ स्टल हुनेछन।
स्थानीय उत्पादन प्रयोग
गुणराज सिलवाल,संयोजक
अतिथि सत्कार उपसमिति
महोत्सवमा आउने अतिथिलाई स्थानीय सामग्रीको प्रयोग गरी भव्यरूपमा स्वागत गरिनेछ । महोत्सवमा आउने अतिथिलाई होमस्टेमा राख्नेछौं । यसले बेसीसहरसँगै लमजुङ जिल्लाको पर्यटन प्रर्बद्धनमा सघाउनेछ भन्ने विश्वास लिएको छु । महोत्सवमार्फत सरोकारवालासँग बेसीसहर क्षेत्रको सामिप्यता झनै बढ्नेछ भन्ने विश्वास लिएको छु।
वित्तीय क्षेत्रलाई सघाउनेछ
नारायणबाबु लोहनी
प्रमुख कार्यकारी अधिकृत,रिलायवल डेभलपमेन्ट बैंक
भूकम्प र भारतीय नाकाबन्दीको मार खेपेका वित्तीय क्षेत्रलाई पनि प्रथम बेसीसहर महोत्सवले सघाउनेछ। पर्यटन, स्थानीय व्यापारी र समग्र निजी क्षेत्रको आर्थिक विकासका लागि महोत्सव उपयोगी हुनेछ।
प्रतिष्ठित कम्पनीको साथ मिलेको छ
पूर्णलाल श्रेष्ठ,संयोजक
प्रायोजक तथा प्रर्दशक संकलन उपसमिति
स्थानीय र रािष्ट्रय स्तरका प्रतिष्ठित कम्पनीहरूले महोत्सवका लागि मुख्य प्रायोजक, प्रायोजक एवं सह-प्रायोजक बनेर सहयोग गरेका छन् । यसले हामीलाई थप उत्साह थपिदिएको छ । बेसीसहर क्षेत्रको शान्ती सुरक्षा लगायतका महोत्सवको उद्देश्य पूरा गर्नका लागि सहयोगको वातावरण सृजना भएको छ।
कृषि तथा पुष्प प्रर्दशनी हुनेछ
राजकुमारी श्रेष्ठ
संयोजक,कृषि तथा पुष्प प्रर्दशनी उपसमिति
महोत्सवमा कृषि र पशु सम्बन्धी प्रर्दशनी हुनेछ। अलैंचीको राम्रो सम्भावना भएको लमजुङमा अलैंची प्रर्दशनी गर्ने व्यवस्था मिलाएका छौं। मौरीपालनका प्याकेज, माछापोखरी, तरकारी फलफूल, च्याउ लगायतको प्रर्दशनी हुनेछ। विभिन्न किसिमका पुष्पको प्रर्दशनी हुनुका साथै जिल्ला पशु सेवा कार्यालयको समन्वयमा पशूसम्बन्धी प्रर्दशनी र जनचेतनामूलक कार्यक्रम गरेर दर्शकको मन जित्नेछौं।
प्रचारलाई व्यापक बनाइएको छ
किशोरकुमार बस्नेत(सन्तोष)
संयोजक,प्रचार प्रसार उपसमिति
महोत्सवलाई जिल्लाब्यापी रुपमा प्रचार प्रसार गरीएको छ। माईकिङ, पोष्टर, पम्पलेटिङ, ब्यानर, तुल द्धारा प्रचार प्रसार भईरहेको छ। स्थानीय तथा राष्ट्रिय बिद्युतीय तथा छापा माध्यमहरूबाट ब्यापक रुपमा प्रचार प्रसार भईरहेको छ । महोत्सवमा सबैको आमन्त्रणका लागि पत्राचार गरीसकेका छौं।
खर्च मितव्ययी बनाउनेछौं
विकास अधिकारी
संयोजक,आर्थिक व्यवस्थापन उपसमिति
प्रथम बेसीसहर महोत्सवमा ५ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । करिब १५ लाख रुपैयाँ नाफा बनाएर हाम्रो लक्ष्य पूरा गर्र्न लागिपरेका छौं। खर्चलाई मितव्ययी बनाएर हाम्रो ध्यान लक्ष्य हाँसिल गरेर नमुना कार्य सम्पन्न गर्नतर्फ केन्द्रित छ।
प्रत्येक टिकटको चार रुपैयाँ सामाजिक सेवामा
कृष्णकुमार प्रधान,संयोजक
टिकट तथा स्टल व्यवस्थापन उपसमिति
प्रथम बेसीसहर महोत्सवमा ६० हजारभन्दा बढी टिकट बिक्री हुनेछ भन्ने हामीले विश्वास लिएका छौं। ५० रुपैयाँ तोकिएको टिकटमा विद्यार्थीलाई सहुलियतको व्यवस्था छ। प्रत्येक टिकटको चार रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गरीने निर्णय गरिएको
डिजिटल प्रविधिको बहस
श्रीकृष्ण लामीछाने
संयोजक,कार्यशाला गोष्ठी उपसमिति
प्रथम बेसीसहर महोत्सवको लक्ष्य र उद्देश्यनै बेसीसहरमा सीसी क्यामेरा जडान गर्ने हो। सोही उद्देश्यलाई मूर्तरुप दिन ‘बेसीसहर क्षेत्रमा डिजिटल प्रयोग: सम्भावना र चुनौती' विषयमा कार्यशाला गोष्ठीको आयोजना गरिनेछ। महोत्सवबाट आएको नाफाले बेसीसहरमा तत्कालै सीसीक्यामेरा जडानको कार्य थालनी गरिनेछ।
रौनकता थपिनेछ
बिमल श्रेष्ठ
संयोजक, झाँकी तथा र्याली व्यवस्थापन उपसमिति
जातीय भेषभूषा सहित स्थानीयको र्यालीमा सक्रिय सहभागिता जनाउनेछन्। पञ्चैबाजो बजाएर र्यालीको रौनक बढाइनेछ। पाँचपाँच मिटरको फरकमा समुहगत रूपमा र्यालीमा उपस्थिति जनाईने व्यवस्था मिलाइएको छ।
बेसीसहरको मनाङचौतारबाट भिमसेनस्थान शेराचोक हुँदै महोत्सव स्थल दनाईफाँटमा झाँकी सहितको र्याली जानेछ । यसले स्थानीय कला, संस्कृति र भेषभूषालाई जोगाइराख्न सहयोग पुर्याउने छ भन्ने अपेक्षा लिएको छु।
व्यवस्थित हुनेछ
लोकेन्द्र गुरुङ
संयोजक, स्वयंसेवक उपसमिति
दैनिक रूपमा ३५ जना स्वयंसेवक समुहगत रूपमा परिचालन हुनेछन्। महोत्सवलाई व्यवस्थित बनाउन स्वयंसेवक सक्रियताका साथ लाग्नेछन्। सम्पूर्ण व्यवस्थापनदेखि प्राथमिक उपचारसम्ममा सघाउनका लागि स्वयंसेवक तयार छन्।
लमजुङ चिनाउने उपहार दिनेछौं
सरिता बोहोरा
संयोजक,ब्याच तथा उपहार उपसमिति
महोत्सवमा अतिथिलाई उपाहार दिन स्थानीय उत्पादनलाई ग्राह्यता दिनेछौं। लमजुङको उत्पादनलाई राष्ट्रियरूपमा चिनाउनका लागि यसले सघाउनेछ भन्ने लागेको छ। महोत्सवमा स्थानीय अल्लो लगायतका सामग्रीले प्राथमिकता पाउनेछन् । अतिथिलाई लमजुङ चिनाउने खालका उपाहार र मायाँको चिनो दिइनेछ।
अल्लो र ढाकाका सामग्री प्रर्दशनी
मीना भण्डारी
संयोजक,घरेलु हस्तकला उपसमिति
महोत्सवमा घरेलु हस्तकलाका सामग्रीको प्रर्दशनी हुनेछ । यसले ससाना उद्यमीलाई आत्मनिर्भर बनाउन सघाउनेछ । स्थानीय अल्लो र ढाकाबाट निर्मित घरेलु हस्तकलाका सामग्री प्रर्दशन हुनेछ।
प्रतिभाका लागि ‘प्लेटफर्म'
दीपक पौडेल
संयोजक,स्थानीय कला तथा प्रबद्र्धन उपसमिति
लमजुङ जिल्ला कलाकारको खानी जिल्ला हो। यस जिल्लाले राष्ट्रिय रूपमा समेत थुप्रै कलाकार जन्माइ सकेको छ। बेसीसहर महोत्सवमार्फत पनि नवप्रतिभा भएका कलाको खोजी गरेर कलाकारिता क्षेत्रमा लाग्न प्रेरणा दिइनेछ। नवप्रतिभाका लागि प्रथम बेसीसहर महोत्सव ‘प्लेटफर्म' बन्न सक्नेछ भन्ने विस्वास छ।
नयाँ पर्यटकीय गन्तव्यको खोजी
प्रदीप बस्नेत, पर्यटन प्रवर्द्धन उपसमिति
जिल्लाका ग्रामीण पर्यटकीय स्थानको प्रचारप्रसार गर्दै नयाँ पर्यटकीय गन्तव्यको खोजी हुनेछ । नयाँ गन्तव्य स्वरुप खुंदीको ढगैंमा पर्यटन प्रबद्र्धनका लागि हामीले सहयोग गरेका छौं । बेसीसहर क्षेत्र र जिल्लाकै पर्यटकीय सम्भावनालाई उजागर गर्दै त्यसको प्रबद्र्धनात्मक कार्य गर्न प्रथम बेसीसहर महोत्सव सफल हुनेछ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.