-->
‘तीनटा बोका काट्दा त भएन, तिमी ठिटा (डाक्टर)ले के उपचार गर्छाै ?’

डा बोम बिसीले जाजरकोट र रोल्पामा रहेर ४ वर्ष स्वास्थ्य सेवा प्रदान गरे । नेपालकै विकटमध्ये पर्ने यी जिल्लामा डाक्टर नजानु एउटा समस्या हो भने डाक्टर गएपनि तिनलाई स्थानीयले विश्वास नगर्ने अर्काे अवस्था छ । उनले यी दुई जिल्लामा रहँदा गरेको केही अनुभवहरु स्वास्थ्य खबरलाई सुनाएका छन् ।
रोल्पाका ५१ मा ४७ गाविस पुगें
म २०६७ साल चैतमा रोल्पा गएको थिए । शिक्षा मन्त्रालयबाट पाएको छात्रवृत्तिमा एमबीबीएस पढेको हुनाले दुई वर्ष सेवा गर्ने सिलसिलामा रोल्पा जिल्ला अस्पतालमा काम गरे । ५१ गाविस भएको रोल्पामा म करिव ४७ गाविसमा पुगे । जिल्ला अस्पतालमा मेडिकल अफिसर थिएँ, फिल्डमा गइराख्नुपर्ने त थिएन । तर, सामाजिक दायित्वका कारण म गाउँ डुलिरहें । रोल्पा सबै दृष्टिकोणले पछि परेको ठाउँ रहेछ । त्यहाको विषमता र कठिनाई हेर्दा पनि मलाई सबै भेगमा पुग्नुपर्छ भन्ने लाग्यो ।
स्वास्थ्य शिविरका क्रममा पनि हामी डुलिन्थ्यो । महिला र पुरुषको स्थायी बन्धायकरण लगायतका काममा हामी जाडो याममा बढी घुम्थ्यौं । आउन जान समय बढी लाग्ने हुनाले हामी एकौ चोटी आठ÷दश गाविस घुम्ने गथ्र्यांै । त्यहाँ सेवा लिन जाने मानिसलाई ५–६ घण्टा लाएर जानुपर्ने अवस्था देखिन्छ । कतिपय मानिसहरुले बिरामी भएपनि स्वास्थ्य संस्था टाढा भएको कारण उपचार गर्नै नगएको गुनासो गरे । यस्तो परिस्थितिमा हामीले दिने सेवामा विस्तार गर्न सकिन्छ ।
रोल्पामा जनजाती बस्तीहरु धेरै देखिन्छन् । शैक्षिक स्तरको कमी, गरिबी र विपन्नताको कारण सरकारले छुट्टाएर निःशुल्क सेवा समेत उनीहरुले लिन सकेका छैनन् । उनीहरुलाई आर्थिक लगायतका सुविधा दिँदादिँदै पनि उपभोग गर्न नसक्नु दुःखद् हो । स्वास्थ्य संस्थामा के–के सेवा पाइन्छ भन्ने थाहा छैन । हामीले वर्षमा एक–दुई पटक शिविर गर्दैमा सबैले बुझ्छन् भन्ने पनि छैन् ।
रोल्पाको गाम गाउँ, जहाँ जनयुद्धका क्रममा धेरै क्षति भएको थियो । रोल्पाको सबैभन्दा टाढा पर्ने गाउँमा जान दुइ दिन जति लाग्छ । त्यहाँ जाँदा एउटा विरामीले मलाई चिने । उनी जिल्ला अस्पताल आएको बेलामा घाँटीमा जमेको पिप निकालेर मैले उपचार गरेको रहेछु । आफूले त्यो कुरा विर्से पनि उनले सम्झिएका रहेछन्, खुसी लाग्यो ।
सरकारले डाक्टरलाई ग्रामिण भेगमा पठाउने नीति लिएको छ, त्यो आफैंमा राम्रो शुरुवात हो । पढ्नका लागि नभएर अनुभवका दृष्टिकोणले पनि महत्वपूर्ण हो । शुरुमा गरिएको कामको सकारात्मक असर दीर्घकालिन हुन्छ । हामी शिविर सञ्चालनका लागि रोल्पाको एक गाउँमा फिल्डमा जाने क्रममा बाटोमा एउटा बच्चा भेटियो । बाटोमा उपचार गर्न त सम्भव थिएन । तर, भोलीपल्ट नजिकैको शिविरमा उसलाई बोलाएर आँखाभित्र पसेको परेला निकालेर उसको उपचार गरियो र त्यसले फुलो पार्नबाट जोगायो । गाउँलेहरुले निकै गुन माने । पछि मास हिस्टेरियाको समस्या आउँदा पनि म त्यही ठाउँमा गएको थिए । उनीहरुले निकै आभार व्यक्त गरे । उनीहरुलाई उपचार गर्न नसके पनि यहाँ र यसरी प्रक्रिया चाल्नुपर्छ भनेर सल्लाह दिए निकै सहयोग मान्छन् ।
नेपालको स्वास्थ्य सेवा प्रणालीमा केही राम्रो उदाहरण पनि देखेँ, केही भने हामीले नै सुधार गर्दै जानुपर्छ । स्वास्थ्यकर्मीले चाहने हो भने पैसा नभएर उपचारका लागि आउने बिरामीलाई पनि औषधी दिएर पठाउन सम्भव छ । आफ्नो खल्तीको पैसा पनि हाल्नु पर्दैन । रिफर गरिने ठाउँमा पनि सिफारिस गरिदिन सकियो भने त्यसप्रति ध्यानाकर्षण हुन्छ । यसले जनतामा स्वास्थ्य सेवाप्रति भरोसा बढ्छ । संविधानमै स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा राखिएको छ । तर स्थानीय तहमा उपचारका क्रममा विरामीलाई राम्रो प्रभाव पार्न सकियो भने राज्यप्रतिको भरोसा अझै बढाउँछ । संविधानको प्रावधानका साथसाथै व्यवहारिक पक्ष पनि महत्वपूर्ण हो ।
पाकेको नाइटोमा खशीको झोल !
ग्रामिण भेगमा अन्धविश्वासहरु प्रशस्त हुन्छन् । रोल्पा बस्ने क्रममा पनि त्यो समस्या देखेँ । रोल्पामा रहँदा एउटा नवजात शिशुमा नाइटो पाकेको समस्या लिएर अस्पतालमा आए । बुझ्दै जाँदा थाहा भयो, पकाएको मासुको झोल नाइटोमा खन्याइदिएछन् । त्यसले त इन्फेक्सन बढाउने भयो । नवजात शिशुको नाइटो बाँध्ने क्रममा केही नभए सफा धागोले बाँध्न सकिन्छ । तर, अन्धविश्वासले कपालको रौं प्रयोग गर्दा रहेछन् ।
ग्याष्ट्रिक लगायतका समस्या भए लोटा अम्खोराले पेटमा राखेर प्रेसर दिएर तान्ने सम्मको काम हुदो रहेछ । रोल्पाको सदरमुकाम जोडिएको गाविसमै यस्तो स्थिती देखिएको हो । बच्चा जन्मेपछि बाहिर ननिकाल्ने, सबैतिर नदेखाउने चलन पनि त्यहाँ छ । एउटा बच्चा नजन्माइ परिवार नियोजनका साधन प्रयोग गर्नुहुन्न भन्ने मान्यता त्यहाँ अझै पनि छ । त्यसले बाँझोपन बढाउँछ रे । पाठेघरमा राख्ने आईयुसीडी लगायतका साधन त प्रयोग नगर्नमै जोड दिइन्छ । हामी मेडिकल अधिकृतहरु एक्लैले चाहेर पनि केही गर्न नसकिने रहेछ । सुधारका लागि सामूहिक प्रयास जरुरी छ । तर प्रयास त छाड्नु भएन ।
बिरामी पर्दा देउतालाई बोका
सुदूरपश्चिमममा जस्तो जाजरकोटमा छाउगोठहरुको समस्या त छैन । तर उत्तरी भेगमा त्यसका अवशेष भने देखिए । पखालाको प्रकोप हुँदा पनि पानी खुवाउनु हुँदैन । झोलिलो पदार्थ खुवाउन बन्द गर्नुपर्छ भन्ने मान्यताहरु देखिए । धामीझाँक्रीको मान्यता जाँजरकोटमा व्याप्त छ । पइक भन्ने गाविस तुलनात्मक रुपमा शिक्षित क्षेत्र हो, तर मष्ठा लगायतका नाममा धामीझाँक्री लगायतमाथिको विश्वास छ ।
यज्ञ गौतम नामका अहेवले त्यहाँ पुगेर धामीझाँक्रीलाई निकै सचेत गराउनुभयो । उहाँले धामीझाँक्रीलाई नकारात्मक असर नपारी आफ्नो कामपछि उपचारका लागि अस्पताल पठाउन आग्रह गर्ने लगायतका काम गर्नुभयो । एकजना बिरामी जिल्ला अस्पताल आउनुभएको थियो, उहाँले सोझै भन्नुभयो, ‘देवी देउताको नाममा २/३ वटा त बोका काटिसकें, केही निको भएन भने तिमी केटाहरुले के उपचार गरौला र ?’ भनेर अविश्वास गर्नुभयो ।
सडक विनाको स्वास्थ्यसेवा
रोल्पाको तुलनामा जाजरकोटको अवस्था अझै पछाडी परेको छ । चेतनाको स्तर र भौगोलिक अवस्था पनि कठिन छ । जाजरकोटमा बाटोको असुविधा अझै बढी छ । स्वास्थ्य सेवाका लागि आधारभूत मानकको रुपमा सडक सुृविधा र पहँुचको कुरा आउँदो रहेछ, त्यो अवस्था अझै दयनिय छ । निर्माण शुरु भएको करिव १३ वर्षपछि बल्ल भेरि पुल बन्ला जस्तो छ । ४ महिना मात्रै फेरिमा चढेर यातायातका साधन पुग्थे । अरु बेलामा भने बाटो नहुँदा बाँकी नेपाललाई जाजरकोटसँग जोडन निकै कठिन छ ।
केही महिनाअघि म मुगुमा भ्यासेक्टोमी क्याम्प चलाउन गएको थिएँ । त्यहाँ पनि बाटो नहुनुको समस्या थाहा भयो । स्वास्थ्यमा सामुदायिक सहभागिताको कुरा जोडिन्छ । तर, बाटो नभएका कारणले सहभागिताको नारा नारामै सीमित छ । स्वास्थ्य सम्बन्धि सचेतनाको पनि समस्या छ । किनभने केही सचेतनामूलक कार्यक्रम छ भने गाउँमा निकै कम सहभागिता हुन्छ । यो मेरो लागि हो र यसबाट केही कुरा जाने म लगायत परिवारलाई फाइदा हुन्छ भन्ने सोचाइको अभाव छ ।
जाजरकोटमा तीनटा प्राथमिक स्वास्थ्य केन्द्र र एउटा जिल्ला अस्पताल छ । तर, केही साता अघिसम्म प्राथमिक स्वास्थ्य केन्द्र खाली थियो । नयाँ डाक्टरलाई उत्साहित गर्न पनि समुदायको सक्रियता आवश्यक पर्दो रहेछ ।
गरिबिका बाछिटाहरु
जाजरकोटमा गरिबीको समस्या प्रमुख हो । सरसफाइको सचेतनाको अभाव छ । त्यहा कहिले हैजा, कहिले इञ्फ्लुएञ्जा लगायतका प्रकोपले दुःख दिएको हुन्छ । जाजरकोटामा निर्माण सम्पन्न हुनुपर्ने १० वटा स्वास्थ्यको भवन अहिलेसम्म पनि बन्न सकेको छैन । चासो र समुदायको दवावका कुरा यसमा जोडिने रहेछ ।
अशिक्षा र गरिबी सबै कुरामा जोडिदो रहेछ । गरिबीले गर्दा बालबालिका स्कुल जान पाएनन् । स्वास्थ्यचेतनाको स्तर पनि कमजोर छ । पर्याप्त आहार पाउनु छैन । मानिस बिरामी भइरहन्छ । स्वास्थ्य संस्थामा गइरहनुपर्यो । यस्ता समस्याले गरिबहरुलाई झन्–झन् गरिबीको मारमा पारिराख्दो रहेछ ।
जाजरकोटको उत्तरी भाग जुम्लातिर जोडिएको हुन्छ । त्यहाँ ज्यादा समस्या देखियो । चिसो ठाउँमा घर, गोठ, भान्सा सबै एकै ठाउँमा गुम्म परेको बनाउने गरेको भेटियो । बीचमा भान्सा कोठा, एकापट्टिको छेउमा गोठ, अर्कोपट्टि मानिस बस्ने ठाउँ । त्यसले छिटो इन्फेक्सन सार्ने समस्या हुन्छ । सरसफाइमा पनि ध्यान दिन कठिनाई छ । पानीको अभाव लगायतका कारणले केही गाउँमा हात धुने बानी बस्न सकेको छैन । विकास, निर्माण र कुनै नयाँ कामको लागि त्यहा सामुदायिक प्रतिवद्धताको अभाव स्पष्टै महशुस हुन्थ्यो । तर, पछिल्लो समय भने त्यहाँका केही जनप्रतिनिधीहरुले विकासका लागि केन्द्रमा पहल गरेको देखिन्छ ।
आशाका किरणहरु…
पछिल्लो समय स्वास्थ्यकर्मीहरु दुर्गम र टाढाको क्षेत्रमा स्थानीय तहमा गएर उपचार गराइरहेका छन् । रहरभन्दा पनि बाध्यताले गएको होला, त्यो अलग पाटो हो । तर, दुर्गममा गएर सुविधा त दियो, त्यसमा सकारात्मक हुनुपर्छ । केही वर्षयता दुर्गममा निकै पदपूर्ति पनि भएको छ । जाजरकोटमै पनि दुर्गमका स्वास्थ्य चौकीमा खच्चड बाँध्ने र बिरामी भए धामीझाँक्रीकोमा पुर्याउने अवस्था थियो । पछिल्लो समय भने अहेवहरु गाउँमै गएर स्वास्थ्यचौकीमा बस्ने गरेको र सेवा दिन थालेको पाइएको छ । सुधार गर्न खोजे सकिदो रहेछ ।
काम भएका पनि छन्
पछिल्लो चरणमा यी दुई जिल्लामा स्वास्थ्य सेवामा निकै सुधार आएको छ । यसमा पनि सूचना प्रविधीलाई प्रयोग गरेर उपचार पद्धतीलाई वृहत बनाउन सकिन्छ । रोल्पामा ‘टेली सेभ मदरहुड’ भन्ने कार्यक्रम चलाएका थियौं । गर्भवतीको विवरण र लगत संकलत गर्ने, अनि ४ महिना पुगेपछि फोन गरेर बोलाउने गरिन्थ्यो । यसरी स्वास्थ्य निकाय प्रोएक्टिभ भइदिए आम जनताको विश्वास जित्न सजिलो हुन्छ । अव कुनै ठाउँमा खोप लगाउनेहरु ढिला गए फोन गरेर बोलाउने गर्छन् । सचेतनामा पनि केही फरक भएको देखिन्छ । खोपको क्षेत्रमा पनि धेरै सचेतना र फेरबदल आएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.