काठमाण्डु, २० चैत– नेपाली कम्युनिष्ट आन्दोलन र तिनको नेतृत्व गर्ने कम्युनिष्ट पार्टीहरुभित्र विभिन्न गुट–उपगुट र विवाद समान्य कुरा भैसकेका छन् । कुन गुटले कति शक्ति प्रदर्शन गरेको छ ,त्यसले पार्टीभित्र र बाहिर कस्तो प्रभाव पारेको हुन्छ र त्यो गुटगत नेतृत्वमा को–को छन् भन्ने कुरा ती पार्टीको शीर्ष नेतृत्व, सांगठनिक संरचना र त्यसले पार्ने प्रभावले तय गरिरहेको हुन्छ ।
सोही सिलसिलामा नेपालको प्रभावशाली पार्टी एनेकपा माओवादी (तत्कालीन नेकपा माओवादी)ले सुरु गरेको जनयुद्धको शुरुको चरणमा सो पार्टीभित्र शीर्ष नेतृत्व र उसको पारिवारिक क्रियाकलापले पार्टीभित्र कस्तो प्रभाव पारेको थियो भन्ने प्रसंगलाई यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
भर्खरै पत्रकार एवम् लेखक नेत्र पन्थीले प्रचण्ड र बाबुराबीच सम्बन्ध विच्छेदको विषयलाई लिएर ‘डिभोर्स प्रचण्ड–बाबुरामको’ शीर्षकमा एउटा पुस्तक बजारमा ल्याएका छन् । सो पुस्तकमा नेकपा माओवादीको वर्गसंघर्ष र त्यसले नेपाली समाजमा पारेको प्रभावका बारेमा सटिक र सिलसिलेवार ढंगमा विश्लेषण गरिएको छ ।
सोही पुस्तकमा समेटिएको एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड, उनकी पत्नी सीता र तत्कालीन नेकपा माओवादीका बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ र उनकी पत्नी नैनकला थापाले नेतृत्व बचाउनका लागि गरिएका प्रयास र नेता पत्नीहरुको सम्बन्धबारे रोचक प्रसंगलाई यहाँ प्रस्तुत गरिएको छ ।
एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड र हाल नेकपा (क्रान्तिकारी) माओवादीका नेता बादलबीच निकै पहिलेदेखिनै घनिष्ठ सम्बन्ध रहँदै आएको थियो । उनीहरु बाल्यकालका समेत साथी हुन् । लामो समय कम्युनिष्ट आन्दोलनमा सँगै बिताएका उनीहरु अहिले भने फरक पार्टीमा छन् । त्यस्तै जनयुद्ध सुरु हुनुअघि देखिनै प्रचण्ड पत्नी सिता र बादलपत्नी नैनकला बीच पनि गाढा सम्बन्ध रहेको थियो । पारिवारिक हिसावमा प्रचण्डको भन्दा बादलको परिवार धनी थियो ।
प्रचण्ड भूमिगत भएदेखि निकै पछिसम्म पनि नैनकलाले सीतालाई पारिवारिक रुपमा निकै सहयोग गरेकी थिइन् । २०५२ सालदेखि जनयुद्ध सुरु भयो ।
जनयुद्ध सुरु हुँदा प्रचण्ड र बादल निकै घनिष्ठ मित्र थिए । बादल जनयुद्ध सुरु हुनुअघि देखिनै पश्चिम नेपालमा सिज अभियान चलाइरहेका थिए भने प्रचण्ड जनयुद्धको सांगठानिकदेखि सबै किसिमका तयारीमा जुटिरहेका थिए । त्यसको प्रभाव सीता र नैनकलामा पनि परिरहेको थियो । उनीहरु बीच पनि निकै घनिष्ठ सम्बन्ध थियो । जनयुद्ध सुरु भएको छोटो समयमै बादलको विषयमा पार्टीभित्र सांस्कृतिक विचलनको कुरा उठान भयो ।
त्यो विषयलाई लिएर नेकपा माओवादीभित्र ठूलो बहसनै भयो । त्यसले बादल परिवारमा समेत ठूलो प्रभाव पारेको थियो । बादलपत्नी नैनकला शिक्षिका थिइन् । परिवारमा निकै तनाव भएपछि उनीहरुबीच सम्बन्ध विच्छेद सम्मको कुरा उठ्यो । त्यसले प्रचण्ड र बादलको परिवारमा समेत मनमुटाव ल्याइदियो । तर सीताले यो विषयमा विशेष पहल लिइन् । बादलको विषयमा पार्टीले जेसुकै निर्णय गरेपनि बादल र नैनकलाबीच सम्बन्ध विच्छेद हुनुहुँदैन भन्ने उद्धेश्यका साथ उनले प्रचण्ड र बादलको आन्तारिक बैठकमा समेत कडा कुरा राखिन । उनले त्यहाँ आत्महत्या हुनसक्ने समेत धम्की दिएको पुस्तकमा उल्लेख छ ।
पुस्तकमा सीता दाहाललाई उदृत गर्दै पन्थी लेख्छन्, ‘दुखमा साथ दिने तर अहिले भने सुट भएन भनेर सम्बन्ध विच्छेदका कुरा निकाल्ने हो भने राम्रो हुँदैन ।’ सीताले प्रचण्ड र बादल दुवैलाई चुनौती दिइन् । त्यसपछि सो विषय त्यतिकै सेलाएर गयो । वास्तवमा सीताले पार्टी नेतृत्व बचाउनकै लागि पनि उक्त पहल लिएको बताउँदै आएकी छन् । पछिल्ला वर्षहरुमा भने बादललाई कार्बाही गरेकै कारण सीता र नैनकलाबीच तुषारापात सुरु भएको पुस्तकमा उल्लेख छ ।
बादल जतिक्कै बाबुराम पत्नी हिसिलासँग समेत सिताको राम्रो सम्बन्ध थियो । तर पछिल्ला वर्ष हिसिलाका क्रियाकलाप सितालाई र सीताको बानी हिसिलालाई मन नपरेकाले उनीहरुबीच गाढा सम्बन्ध नभएको कुरा पनि बाहिर आएको थियो । अहिले हिसिला, आफ्नै पति बाबुरामको नेतृत्वमा सुरु भएको नयाँ शक्ति अभियानमा क्रियाशील छन् । युद्धकालमा नेता पत्नीहरुको अर्को रोमाञ्चक कहानी पनि लेखक पन्थीले उद्घाटन गरेका छन् ।
एकदिन भारतको नयाँ दिल्लीमा प्रचण्डको ५० औं जन्मदिन मनाउन तयारी गरियो । प्रचण्ड पत्नी सीता, बादलपत्नी नैनकला लगायतको टोली त्यसमा खटेको थियो । नेता टोपबहादुर रायमाझीको दिल्लीको रोहिणीस्थित डेरामा गरिएको सो कार्यक्रममा रायमाझीकी पत्नीले समेत पूर्ण सहयोग गरेकी थिइन् । प्रचण्डले जीवनमा एकपटक मात्रै जन्मदिन मनाए, त्यो त्यही ५० औं जन्म दिन थियो ।
त्योभन्दा अघि पनि उनले जन्मदिन मनाएका थिएनन् र त्यसभन्दा पछि पनि उनले जन्म दिन मनाएका छैनन् । सो जन्मदिन कार्यक्रममा प्रचण्ड परिवार, रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला, बाबुराम र हिसिला, टोपबहादुर रायमाझीको परिवार लगायतको उपस्थिति रहेको थियो । केक काटेर मनाईएको सो जन्मदिनमा सेलरोटी लगायतका परिकार पनि पाकेका थिए । बाहिर राम्रै देखिएपनि पछि बिस्तारै सीता र नैनकला टाढा हुँदै गएको बताइन्छ ।
पुस्तकमा लेखिएको छ, ‘सीता र हिसिलाले पार्टीभित्र समेत दबाब दिन्थे भने वैद्य पत्नी सुस्मा र नैनकलाले पार्टीभित्रको काममा दवाव दिदैनथे ।’ पछि युद्ध समाप्त हुनेबेला भएको चर्चित चुनवाङ बैठकमा बादलले आफुमाथि भएको कार्बाहीका विषयमा आत्माआलोचना गरेको र उनीमाथि लगाएका आरोपहरु पार्टीले खारेज गरेको थियो । उक्त बैठकमा बादलले उपस्थित सबैलाई रुवाएको समेत चर्चा सुनिएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...