आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्धको खेलमा नेपालका ब्याट्सम्यान शरद भेषावकरले उत्कृष्ट प्रदर्शन गरे । उनले नट आउट रहँदै पहिलो खेलमा ५० र दोश्रो खेलमा ७४ रन बनाए । नामिबियाविरुद्ध गरेको प्रदर्शनका बारेमा लक्ष्मण कार्कीले शरदसँग गरेको कुराकानी :
एकदमै राम्रो खेल्नुभयो थप चर्चित बन्नुभएको छ अनुभव कस्तो रह्यो ?
अमेजिङ । विश्वासै नलागेजस्तो भएको छ । यति खुशी भएको छु कि म शब्दमै भन्न सक्दिन कस्तो रह्यो भनेर । आइ ह्याव नो बर्डस् एक्चुअल्ली । खेल जित्यौं त्यहि खुशी लागेको छ ।
सुरुमा लक्ष्य अलि बढि भयो जस्तो लागेको थिएन ?
क्रिकेटमा कुनै कुरा अनुमान गर्न सकिंदैन । अस्ती शनिबार १ सय ९६ पनि ठुलो लक्ष्य थियो । आजको २ सय ४० को लक्ष्य पनि कमजोर थिएन । तर हाम्रो रणनीति सफल भयो । यत्रो दर्शकका सामुन्ने खेल्ने कुरा गाह्रो पनि हो । यत्रो क्राउडले सपोर्ट गर्दा दबाब पनि हुन्छ । तर खास कुरा के हो भने यत्रो क्राउडमा यति धेरै दर्शकको सामुन्ने खेल्दा थोरै शट मात्र गलत हुन्छन् जस्तो लाग्छ मलाई ।
दुवै गेममा तपाई प्ले मेकर नै बन्नुभयो दबाब कत्तिको थियो ?
खासमा दबाबमा खेल्ने बानी भएकाले पनि होला त्यस्तो धेरै दबाब फिल भएन । तर मैंले केही गर्नुपर्नेछ । टिमलाई अघि लैजानु छ भन्ने मनमा थियो । एउटा राम्रो पक्ष के भयो भने दुवै खेलमा लक्ष्य धेरै थिएन । प्रतिओभर पाँच साढे पाँचको मात्र लक्ष्य थियो त्यसैले टिकेर खेल्न मिल्यो । तर यो विकेटमा यस्तो खेल्नु धेरै कठिन काम हो । आज पारससँग एकदमै राम्रो साझेदारी भयो । पारसले सय रन बनायो यो चानचुने कुरा होइन । र मैंले पनि सोचेजस्तो खेल्न सकें त्यो पनि मेरो जीवनकै वानअफ द बेष्ट इनिङ हो यो ।
अब शरद भेषावकरलाई हामीले सधैं तेश्रो नम्बरमा देख्न पाउँछौं ?
यो त मैंले भनेर हुँदैन । कोच र क्याप्टेनले जुन भुमिका दिनुहुन्छ म त्यहि भूमिकामा फिट भएर खेल्ने प्रयास गर्नेछु । टिमले जुन भूमिका अपेक्षा गरेको छ त्यो पुरा गर्न सक्नु मेरो लागि महत्वपुर्ण हो ।
सातौ–आठौ ओभरमा क्रिजमा आएर अन्तिम सम्म टिक्न त धैर्यता त धेरै नै चाहिन्छ है ?
मेरो बानी पनि धेरै नअतालिने खालको छ । म सकेसम्म संयमित हुने मान्छे हुँ यो बानीले क्रिजमा पनि मलाई फाइदा पुर्याउने गरेको छ । बल जज गर्दै टिक्ने वा पिट्ने भन्ने डिसाइड गर्न यो बानीले सघाउँदो रहेछ । अर्को कुराचाहिं धेरै खेलमा फिनिसिङ गरेका कारण पनि मलाई सजिलो भएको हो ।
आजको खेलमा अन्तिम ओभरमा ६ रन चाहिएको थियो, के सम्झिनुभयो ?
पारस आउट हुँदा हामीलाई ३५÷३६ रनको मात्र आवश्यकता थियो । टन्नै विकेट थियो । त्यसैले हामीलाई एडभान्टेज थियो, तर त्यसपछि अलि छिटो विकेट झर्यो र केही दबाब जस्तो भयो । अन्तिम ओभरमा मेरो दिमागमा धेरै कुरा आएन शायद धेरै कुरा सम्झिनुपर्ने बेला पनि त्यो थिएन । सेकेण्ड लाष्ट बलमा त्यस्तै सट खेल्छु भन्ने मैंले डिसाइड गरिसकेको थिएँ, त्यही सट चौका भयो । मैले त्यो बेला वर्ल्डकप क्वालिफायरको हङ्गकङ्गसँगको खेल मात्र सम्झिएँ । जहाँ मैले राम्रो फिनिसिङ गरेको थिएँ, मैले त्यहि खेल सम्झिएँ एकपटक भगवान पुकारें र सट हानें ।
नेपालले अब बाँकी खेलका लागि कस्तो तयारी गर्नुपर्छ ?
आजका कमजोरी सुधारेर अघि बढ्ने हो । प्रतियोगितामा हामी अझै धेरै अघि पुग्नुछ । बलिया टीमहरुसँग खेल्नुछ । शीर्ष ४ मा पर्नुपर्ने छ । त्यसका लागि अझै धेरै हार्डवर्क गर्नुपर्छ ।
तपाईको बिचारमा आज नेपालले के के गल्ती गर्यो ?
आज हाम्रा केही कमजोरीहरु भए । केही क्याचहरु छुटे । बलिङ्ग पनि लुज भएको हो कि जस्तो भयो । फिल्डिङमा पनि केही कमजोरी देखियो । केही विकेट सस्तैमा गुमाउनुपर्यो । तर यो क्रिकेट हो जसको अनुमान गर्न सकिँदैन । सवै कुरा सोचेजस्तो पनि हुँदैन । हामीले जित्यौं त्यो राम्रो कुरा हो तर हाम्रा कमि कमजोरी सच्याउनुपर्छ । हामीले अझै धेरै मेहनत गर्नुपर्छ


0 comments
प्रतिक्रिया दिनुहोस्...