-->
राई आईजीपी भएकै दिन सशस्त्र प्रहरीलाई लाग्यो ठूलो झट्का !

काठमाडौं, १५ वैशाख । मंगलबार सशस्त्र प्रहरी बलका दुई खबर सुन्न पाइयो । एउटा खुसीको खबर थियो भने अर्काे दुःखको खबर ।
खुसीको खबर यसकारण थियो कि सशस्त्र प्रहरी बलले नयाँ प्रमुख (आईजीपी) पायो । सरकारले मंगलबार दुर्जकुमार राईलाई आइजीपी नियुक्त गर्यो ।
अर्काे दुःखको खबर थियो सशस्त्र प्रहरी बलको लाइबेरिया शान्ति मिसन बन्द हुनु । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेसन्स मिसन इन लाइबेरिया (युनामिल)मा खटिएको फम्रड पुलिस युनिट (एफपियू) टोली आइतबार स्वदेश फर्किएसँगै मिसन बन्द भएको हो ।
एसएसपी राजेन्द्र बस्नेत नेतृत्वको दुई सय २१ सदस्यीय टोली आइतबार फर्किएको हो। लाइबेरियामा लजिस्टिक हेर्ने सशस्त्र प्रहरीको सानो टिम मात्र बाँकी छ। सो टोली बन्दोबस्तीका सामान लिएर मात्र फर्किनेछ ।
लाइबेरियामा शान्ति सैनिक कटौती गर्ने संयुक्त राष्ट्रसंघको योजनाअनुसार सशस्त्रको एफपियू मिसन बन्द भएको हो । त्यहाँको शान्तिसुरक्षामा सुधार भएपछि शान्ति सैनिक कटौती गरिएको छ ।
लाइबेरिया मिसन सशस्त्र प्रहरीको पहिलो एफपियू मिसन हो । त्यहाँ सशस्त्रले करिब १० वर्ष काम गर्यो । सशस्त्रको तीनवटा एफपियू मिसन रहेकोमा अब दुईवटा मात्र रहनेछन् ।
हाल सशस्त्रका दक्षिण सुडानमा दुईवटा एफपियू मिसन छ । एउटा मिसन दुई वर्षअघि लाइबेरियाबाटै स्थानान्तरण गरिएको हो भने गत वर्ष राष्ट्रसंघले अर्को मिसन सशस्त्र प्रहरीलाई थपेको थियो । लाइबेरिया मिसन कटौती भएको र त्यहाँ रहेका सामान ल्याउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी शैलेन्द्र खनालले बताए ।
लाइबेरियामा नेपाल प्रहरीका केही अधिकारी भने पर्यवेक्षकका रूपमा कार्यरत छन् । पर्यवेक्षकका रूपमा लाइबेरियामा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरीहरू पनि फर्किएपछि नयाँ जान पाउने छैनन् ।
नेपाल प्रहरीका एसएसपी पुष्कर कार्की र सशस्त्र प्रहरीका एसएसपी चन्द्रप्रकाश गौतम ग्लोबल भ्याकेन्सीमा प्रतिस्पर्धा गरी शान्ति मिसनमा पी ४ तहको जिम्मेवारी सम्हाल्दै आएका छन् । नयाँ पत्रिकामा समाचार छ ।
तपाईको प्रतिक्रिया


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.