-->
'फुटाऊ र राज गर'को नीतिमा दार्जिलिङ

दार्जिलिङ- उत्तर बंगालका पहाडमा राजनीतिक पार्टीबीच घमासान चलिरहेको छ। यहाँ गोर्खा जनमुक्ति मोर्चाका विमल गुरुङ र उनकै पार्टीबाट छुट्टिएका हड्काबहादुर क्षेत्रीले चर्को चुनौती दिइरहेका छन्।
विमल गुरुङले भारतीय जनता पार्टीसँग मिलेर चुनाव लड्दैछन् भने क्षेत्रीको जनआन्दोलन पार्टीले तृणमूल कंग्रेससँग काँध मिलाइरहेको छ। यही कारणले यस पटक यो पहाडी क्षेत्रमा निकै रोचक संघर्ष हुने आँकलन छ।
चुनावका बेला यहाँका सडकमा बेग्लै गोर्खाल्यान्ड राज्यको नारा चर्किएको छ। यहाँका सर्वसाधारणका लागि यो मुद्दा भावनासँग जोडिएको हुनाले दुवै दलले यसलाई दोहन गरिरहेका छन्।
एक पटक चुनाव सकिएपछि यी नारा पनि फिक्का हुन्छन्। त्यसपछि सर्वसाधारण आफ्नै समस्यासँग जुझ्न व्यस्त हुन्छन्। अर्को चुनाव नआउञ्जेल अन्य पार्टीलाई पनि ठूलो स्वर बनाएर मुद्दा उठाउने फुर्सद हुँदैन।
यो चुनावमा अर्को रोचक पक्ष चाहिँ सुभाष घिसिङको गोर्खा नेसनल लिबरेसन फ्रन्टले जनआन्दोलन पार्टीलाई सघाउने घोषणा गरिसकेको छ। यसले विमल गुरुङलाई झट्का लागेको छ।
जनमुक्ति मोर्चाका सचिव रोशन गिरीले बिबिसीलाई भने, 'पहिले हामीले ममता बनर्जीलाई समर्थन दिएका थियौं तर पार्टीले हामीबीच नै फुट ल्याउने काम गर्योल।'
ममता बनर्जीले 'फुटाऊ र राज गर' नीति अन्तर्गत अघि बढेको गिरीको आरोप छ। शेर्पा, लेप्चा, लामा आदि जनजातिका लागि बेग्लै बोर्ड बनाएपछि आफ्नो जातजातितिर मात्र ध्यान दिने र पूरै गोर्खाल्यान्डको मुद्दा बिर्साउने काम सो नीतिले गरेको उनको भनाइ छ।
यस पटक गोर्खा मुक्ति मोर्चाले तृणमूल कंग्रेससँगको सान्निध्य तोड्दै भाजपासँग हात मिलाएको छ। केन्द्र सरकारको सहयोगले नै गोर्खाल्यान्डको माग पूरा हुने मोर्चाको विश्वास छ।
मोर्चाको दह्रो संगठन भएकाले अर्को पार्टीको गठनले खासै फरक नपर्ने गिरीको धारणा छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.