काठमाडौं-उपराष्ट्रपति नन्दबहादुर पुनले आफु पनि भूतपूर्व सनिक भएको बताएका छन् । शुक्रवार काठमाडौंमा भएको भूतपूर्व सैनिक महासंघ, नेपालको ‘पाँचौ राष्ट्रिय सम्मेलन’ उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘मैले पनि आफ्नो महत्वपूर्ण समय सैन्य जीवनमा बिताएको यहाँहरुलाई अवगत नै छ । यस कार्यक्रममा बोल्दै गर्दा मैले आफूलाई पनि एकजना भूतपूर्व सैनिककै रुपमा लिइरहेको छु । यसअर्थ पनि म तपाईं भूतपूर्व सैनिक साथीहरुको सदा साथमा रहनेनैछु । ’ उनले भने । सम्मेलनमा नेपाली, भारतीय, बेलातीय सेना र सिंगापुरे प्रहरीबाट अवकाश प्राप्त एक सय ५० जना भूतपूर्व सैनिकहरु सहभागी छन् । सम्मेलन भोलीसम्म चल्नेछ ।
सम्बोधनको पूर्ण पाठ
भूतपूर्व सैनिक महासंघ, नेपालको पाँचौ राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा सहभागी हुन पाउँदा ज्यादै हर्षित छु । म यो सम्मेलनको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु । यस अवसरमा आउँदै गरेको नयाँ वर्ष–२०७३ र नेपालीहरुको चाड चैते दशंैको यहाँहरु र यहाँहरुका परिवार सबैमा शुभकामनासमेत व्यक्त गर्दछु ।
आफ्नो उर्जावान समय सैनिक जीवनमा बेतित गर्नु भएका तपाईं भूतपूर्व सैनिक साथीहरु यसरी संगठित भएको देख्दा मलाई धेरै खुशी लागेको छ । नेपाली, भारतीय र बेलायती सेनामा कार्यरत भई सैन्य जीवनबाट अवकाश प्राप्तपछि यसरी एउटै संस्थामा आबद्ध हुनु हामी सबैका लागि झनै खुशीको कुरा हो । यसरी संगठित भएर आफ्नो समाज हित र देशको हित तथा विकासका लागि लाग्नु भएकोमा म यस अवसरमा तपाईंहरुलाई धन्यवाद दिन चाहान्छु ।
सैनिक राष्ट्रको पहरेदार शक्ति हो । राष्ट्रियता, सार्वभौमिकता र देशको भौगलिक अखण्डता जोगाउनु हरेक राष्ट्रिय सेनाको प्रमुख कर्तव्य हो । भूतपूर्व सैनिक साथीहरुले पनि आफ्नो सेवाकालमा कर्तव्यपालन गरिसक्नु भएको छ । नेपाली सेनाले देशको स्वतन्त्रता, भौगलिक अखण्डता र नेपाली जनताको सार्वभौमिकतालाई बचाउन पटकपटक लडेको ईतिहास हामीमाझ छ । सुगौलीसन्धीपछि नेपालीहरुले भारतीय र बेलायती सेनामा भर्ति भई मित्र राष्ट्रहरुको पक्षमा ईमान्दारिता र बहादुरीताकासाथ लड्नु भएको छ ।
पहिलो र दोस्रो विश्वयुद्ध तथा विभिन्न युद्धमा बहादुरीका साथ युद्ध लडेबापत ती देशबाट सैनिकहरुलाई दिईने उच्चमान पदवीबाट हाम्रा अग्रजहरु सम्मानित हुनु भएको छ । यो कार्यक्रमको अवसरमा भिक्टोरिया क्रस प्राप्त गर्नुहुने १४ जना नेपालीहरुलाई म उच्च सम्मान गर्दछु । साथै, विश्वभरी नै नेपाल र नेपाली तथा गोरखाहरुको शीर उच्चो बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएकोमा सम्पूर्ण गोरखा सैनिकहरुको म सम्मान गर्दछु ।
छ। नेपाली सेना दक्षिण एशियाकै पुराना संगठित सैन्य शक्ति हो । जुनसुकै मुलुकको राष्ट्रिय सेना राष्ट्रिय चरित्रको हुनुपर्दछ । हाम्रो नेपाली सेना राष्ट्रिय चरित्रको बन्दै गएको छ । नेपाली सेनाले संयुक्त राष्ट्र संघको आह्वानमा विभिन्न देशहरुमा शान्तिस्थापनार्थ शान्ति सेनाको रुपमा अनुशाषित, मर्यादित, ईमान्दार र बहादुरीताकासाथ कर्तव्य पालन गरिरहेको छ । यसबाट पनि विश्व शान्तिका प्रतीक गौतम बुद्धको हाम्रो देश नेपालबाट विश्वलाई शान्तिको सन्देश प्रवाह गरिरहेका छौँ । हामीले नेपालको शान्तिप्रक्रियालाई मौलिक रुपमा टुंग्याएर पनि विश्वलाई शान्तिको सन्देश दिएका छौँ ।
शान्तिप्रक्रिया टुंगाउँदा हामीले राष्ट्रिय सेनामा विद्रोही सेनालाई समायोजित गरेका छौँ । नेपाली सेना र तत्कालीन विद्रोही सेनाको सकारात्मक सोंचकासाथ भएको सेना समायोजनमार्फत नै हाम्रो शान्तिप्रक्रियाको प्रमुख काम टुंगिएको हामी सबैलाई अवगत नै छ । यसखाले हाम्रो मौलिक शान्तिप्रक्रियालाई द्वन्द्वरत विश्वका अन्य मुलुकहरुले पनि सिक्ने मैले विश्वास लिएको छु ।
नेपाली सेनाले जनताको बलबाट हुने परिवर्तनहरुलाई स्वीकार्दै आएको छ । ०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनमा नेपाली सेनाले नेपाली जनताप्रति देखाएको समर्थन विशेष स्मरणीय छ । लोकतन्त्रमा सबै अधिकार जनतामा हुन्छ । नेपाली सेना जनतासँगको सम्बन्धलाई अझ विस्तार गर्दै अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्दछ । भूकम्पलगायत हामीले भोगेका ठूल–ठूला प्राकृतिक विपतहरुमा नेपाली सेनाले उद्धार तथा राहतमा जुन प्रकारको महत्वपूर्ण भूमिका खेल्दै आएको छ, निश्चय नै सेनाको यस्ता कार्यबाट जनता र सेनाबीचको सम्बन्ध अझ सुमधुर भएको हुनुपर्दछ ।
हामी जो जुन पद र जहाँ भए पनि हाम्रो एउटै ध्यय छ, त्यो हो राष्ट्र सेवा र समाज सेवा । राष्ट्रभन्दा माथि हामी कोही छैनौँ । एक सैनिक जवान वा अधिकृतको त झन् राष्ट्र भन्दा माथि केहीं हुनै सक्दैन । हाम्रो राष्ट्रहितलाई सर्वोपरिमा राखेर हाम्रो स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रियता, स्वाधीनता र भौगलिक अखण्डतालाई अझ बलियो बनाउँदै हामी सबै आर्थिक सामाजिक रुपान्तरणसहितका समुन्नत र समृद्ध राष्ट्र निर्माणमा हामी सबै लाग्नुपर्दछ । हामीले सैन्य सेवाबाट प्राप्त गरेका अनुभव र अनुशासनलाई समाजका अन्य नागरिकलाई पनि सिकाउनु हाम्रो दायित्व हो । किन भने अनुभवि, शिक्षित, अनुशासित र लगनशील समाजले मात्रै राष्ट्रको उन्नती र प्रगति गर्न सक्दछ । यसतर्फ ध्यान दिन भूपू सैनिक साथीहरुलाई अनुरोध गर्दछु ।
समृद्ध राष्ट्र निर्माणमा भूतपर्वू सैनिकहरुको महत्वपूर्ण भूमिका हुने मैले आशासमेत गरेको छु । तपाईं भूतपूर्व सैनिक साथीहरुलाई म आग्रह गर्दछु की तपाईंहरुको बाँकी समय समुन्नत र समृद्ध राष्ट्र निर्माण तथा समाज सेवामा लगाउनुहोस् । साथै नयाँ संविधान कार्यन्वयनमा पनि यहाँहरुको संस्थागत र व्यक्तिगत पहल महत्वपूर्ण हुने मैले विश्वास लिएको छु ।
। यस कार्यक्रममा बस्दै गर्दा मैले भूतपूर्व सैनिकहरुको पीरमर्काका बारेमा केही कुरा सुन्ने अवसर पाएँ । निश्चय नै यसबाट मेरो ध्यानाकर्षित भएको छ । मेरोतर्फबाट हुने सहयोग यहाँहरुलाई हुनेनै छ । मैले पनि आफ्नो महत्वपूर्ण समय सैन्य जीवनमा बिताएको यहाँहरुलाई अवगत नै छ । यस कार्यक्रममा बोल्दै गर्दा मैले आफूलाई पनि एकजना भूतपूर्व सैनिककै रुपमा लिइरहेको छु । यसअर्थ पनि म तपाईं भूतपूर्व सैनिक साथीहरुको सदा साथमा रहनेनैछु ।
अन्त्यमा मलाई यस कार्यक्रममा आमन्त्रण गर्नु भएकोमा भूतपूर्व सैनिक महासंघप्रति धन्यवाद ज्ञापन गर्दै यो सम्मेलन सफलताको लागि पुनः शुभकामना व्यक्त गर्दछु । धन्यवाद !


0 comments
प्रतिक्रिया दिनुहोस्...