म्याड्रिड — पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनको मद्दतले रियल म्याड्रिड इबारलाई पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लेको छ । खेलका रोनाल्डोले एक गोल गर्नका साथै दुई गोलको अवसर सृजना गरे ।
गोलसँगै रोनाल्डोले ला लिगामा लगातार ६ सिजन ३० गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
मंगलबार हुने वुल्फस्बर्गविरुद्धको खेलको तयारी स्वरुप रियलले मुख्य खेलाडीलाई आराम दिएको थियो । घाइते करिम बेन्जेमा र आराम दिइएका गेराथ बेल बिना नै रियल मैदानमा उत्रेको थियो ।
खेलको शुरुवातमा नै हामेज रोड्रिगेजले गोल गर्दै रियललाई अग्रता दिलाए भने लुकास भाजक्वेजले रियलको अग्रता दोब्बर बनाए । त्यसपछि रोनाल्डो र जेसेले गोल गर्दै पहिलो हाफमा रियललाई ४—० को अग्रता दिलाए ।
पछिल्ला ८ खेल जित्न नसकेको इबार रियलको काउन्टर अट्याकसँग नतमस्तक देखिएको थियो । दोस्रो हाफमा भने सुध्रिएको प्रदर्शन गरे पनि इबारले कुनै गोल फर्काउन सकेन र खेल रियलले आफ्नो पक्षमा पार्न सफल रह्यो ।
दोस्रो स्थानमा उक्लेपनि एथ्लेटिको म्याड्रिडले इस्पानियोललाई पराजित गरे रियल पुनः तेस्रो स्थानमा खस्कनेछ ।
च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको रियलका लागि मंगलबारको खेल महत्वपूर्ण रहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...