काठमाडौं । पूर्व राष्ट्रपति पछिल्ल्लो समय फेरि चर्चामा आएका छन् । नेपालको इतिहासमा पहिलो राष्ट्रपति हुने सौभाग्य पाउँदै स्वर्णित अक्षरले पहिलो राष्ट्रपतिमा नाम लेखाएका डा. रामवरणको चर्चा सकारात्मकभन्दा धेरै नकारात्मक बढी हुन गएको छ । पूर्व राष्ट्रपति आफैंमा एउटा सम्मानित पद हो । जहाँ उनी सबैका साझा व्यक्तिका रुपमा मानिन्छन् । मानिनुपर्छ । उनलाई यो सम्मान दिनु पनि पर्छ ।
तर, यादव सबैबाट सम्मानित भएर बस्नेभन्दा पनि सबैबाट आलोचित हुने गरी क्रियाकलापमा उत्रिएका छन् । कटवाललाई थमौति दिनेदेखि अहिले संविधान घोषणा गर्दा यस पछि कार्यान्वयन गर्ने अवस्थासम्म आइपुग्दा उनी साझा र मान्य व्यक्तिका रुपमा दरिंदैनन् । जब निर्वाचित सरकारले प्रधान सेनापतिलाई हटाउन खोज्यो तब यादवले उनलाई थमौति दियो । एमाओवादी राष्ट्रविरुद्ध खनियो । सम्बन्ध कहिल्यै सौहाद्र्र नबन्ने गरि बिग्रियो ।
पहिलो संविधानसभा असफल भएपछि दोस्रो संविधानसभासम्म आइपुग्दा उनको निरन्तरता हुने वा नहुने भन्नेमा राजनीति विभाजित भयो । उनले पदमै आफू बसिरहने, नहट्ने गरी क्रियाकलाप अघि बढाए । अर्को भरपर्दो विकल्प पनि नभएकोले उनको पदावधि बढ्दै गयो । एमालेले उनलाई हटाउने प्रयास गरे पनि त्यो सफल हुन सकेन ।
दोस्रो संविधानसभा निर्वाचनपछि संविधान बनाउँने चरणमा यादवले संविधानमा आफ्नो पनि भूमिका खोजे । जबकी उनी संवैधानिक हुन् । राजनीतिक विषयमा बोल्ने र भूमिका खोज्ने उनले गर्न हुदैनथ्यो । सम्मानित संस्थाले यस्तो गर्दा नराम्रो र गलत नजीर बस्नेतर्फ उनले ख्याल गरेनन् । कहिले मधेसका नाममा त कहिले असन्तुष्ट अर्को पक्षका नाममा भन्दै उनले राजनीतिक दबाब बढाए । सो कारण उनी आफैंको पार्टी कांग्रेससमेत असन्तुष्ट भयो । कुनै समय यही पार्टीका महामन्त्री भएका उनको विषयमा तत्कालीन सभापति सुशील कोइराला नै असन्तुष्ट भए । पहिलो एमाओवादी, एमाले, कांग्रेस तीनवटै मूलधारका दलहरु राष्ट्रपतिको शैली, भूमिका र उनमा पलाएको राजनीतिक सोचले असन्तुष्ट हुन पुगे ।
पदपछि पनि भूमिकाको कसरत
उनी पदबाट हटे नयाँ राष्ट्रपतिमा विद्यादेवी भण्डारी आइन् । तर, रामवरणमा राजनीति धङधङी हटेन । उनी त सबैलाई जोड्ने साझा व्यक्तिका रुपमा सम्मानका साथ बस्नुपर्नेमा झन् विवादास्पद शैलीमा देखिए ।
आफैंले जारी गरेको संविधान बाध्य भएको जारी गर्नुपरेको वक्तव्यबाजी गर्दै हिडे । पूर्व जनरल छत्रमान सिंह गुरुङको किताब विमोचनका आफैंले आकाश थामेको झैं १७ साल दोहोरिन नदिएको जस्ता तर्क गर्न थाले । राष्ट्रिय सुरक्षा जहिल्यै पनि अह्म हुन्छ तर, प्रधान सेनापति जस्ता व्यक्तिले सुरक्षा निकायका माथिल्ला तहका रणनीति क्रियाकलाप जस्ता विषयमा अर्को सहकर्मीलाई ताछ्न लेखिएको किताब विमोचनमा राजनीतिक मन्तब्य दिएपछि यादवलाई रुचाउँने भन्दा पनि आलोचन बढी गर्ने देखिए । ‘राष्ट्रपति पद आफैंमा सम्मान र सबैले गर्व गर्नुपर्ने पद हो तर, यो संस्थाको गरिमालाई उहाँले त्यतिधेरै न्याय गर्ने गरी भूमिका खेल्नमा कतै चुक्नुभयोकी जस्तो लाग्छ’ कांग्रेसका एक पुराना नेता भन्छन्, ‘उहाँले पुराना कुरा ओकल्ने र अर्कोलाई ताछन् होइन । सरकारले उपलब्ध गराएको घरमा बस्ने र सकेसम्मा राम्रो र सबैलाई जोड्ने गरी भूमिका खेल्ने हो ।’
अझ यादव एक कदम अघि बढेर भ्रष्टाचार आरोपमा अनुसन्धान चलिरहेका साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितलाई ‘तपाईंलाई हौसला दिन आएको हुँ’ भन्दै उनलाई भेट्न अस्पताल नै पुगेपछि उनको आलोचना भएको छ । राज्यको संवैधानिक निकायले छानविन गरिरहेका बेला उनलाई भेट्न जानुले पनि यादवलाई थप विवादमा ल्याउन सक्ने देखिएको छ ।
पछिल्लो समय त प्रधानमन्त्री केपीले मुखै फोरेर पूर्व राष्ट्रपतिले अनावश्यक टिप्पणी गर्दै हिडेको भन्दै तीव्र असन्तुष्टी जनाएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...