पाँच वर्षअघि स्थापना गरेको मिलीजुली सिमेन्ट उद्योगमा विहानै देखि खटिनु पर्छ । गर्मीको समय भएकाले विहानको समयमा उद्योगको काम गर्नुपर्छ ।
मेरा श्रीमान रोजगारीका लागि साउदीमा हुनुहुन्छ । साउदीबाट छुट्टिमा घर आउँदा पाँच वर्ष अघि उहाँले मिलीजुली सिमेन्ट उद्योग स्थापना गर्नुभएको हो । उद्योगमा सिमेन्टबाट बन्ने गमला, रिंग, टायल आदि बन्छन् ।
त्यसैको व्यवस्थापन गर्न भ्याइनभ्याई भएको हो । पाँच वर्षमा ४०/५० लाख रुपैयाँ लगानी भइसक्यो । यो उद्योगबाट दुई छोरा पढाउने र अरु घर खर्च पनि चलेको छ ।
मैले कक्षा ७ सम्म पढेकी छु । आफूले भनेजस्तो पढ्न नपाए पनि छोराहरुले पढुन जस्तो लाग्छ । अनि श्रीमानले परदेशमा दुःखले काम गर्नुहुन्छ । उहाँको दुःख सम्झेर यहाँ मैले पनि काम गरिरहेकी छु । श्रीमानले साउदीमा महिनाको एक लाख रुपैयाँ कमाउँदा पनि म गाउँघरमा मेलापात गरेर बसें ।
उद्योगको कमाइ घर खर्च चलाएर त्यसैमा लगानी गर्दै आएको छु । सुरुमा श्रीमानले नै विदेशमा भन्दा स्वदेशमा केहि गरौं भनेर उद्योग खोल्नुभयो । तर पछि फेरी उहाँ विदेश हिँड्नुभयो । त्यसपछि आफैंले उद्योग धानेकी छु ।
मिस्त्रीहरुसँगै म पनि उद्योगमा काम गर्छु । मिस्त्रीले दिनको चारदेखि सात सय रुपैयाँसम्म ज्याला लिन्छन । अहिले मेरो उद्योगमा दैनिक ११ जनाले काम गरिरहेका छन् ।
विद्रोही गिरीसँग गरेको कुराकानीमा आधारित ।


0 comments
प्रतिक्रिया दिनुहोस्...