बैशाख ५, काठमाडौं । चैत्र पूर्णीमामा लाग्ने बौद्ध–स्वयम्भू तामाङ जात्रा यहि बैशाख ९ (बौद्धमा) र १० (स्वयम्भू) गते लाग्ने भएको छ । तिमाल जात्राको नामले पनि चिनिने यस मेलामा तामाङहरु पितृहरु र मृतकको नाममा धार्मिक विधि सम्पन्न गरि श्रद्धार्पण गर्नका लागि उपस्थित हुने गर्दछन् ।
मेला व्यवस्थापनका लागि बौद्धजात्रा व्यवस्थापन समिति र स्वयम्भू चैत्रपूर्णे जात्रा मुल व्यवस्थापन समितिले बैशाख ४ गते छुट्टा छुट्टै रुपमा प्रेस विज्ञिप्ती जारी गरि जात्रा व्यास्थानबारे आफ्ना कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यतालिका अनुसार ‘बैशाख ९ गते राष्ट्र प्रमुखद्धारा पर्वको उद्घाटन गर्ने, बौद्ध परम्पराअनुसार ङोवा मोलम गर्ने, रक्तदान कार्यक्रम गर्ने, निःशुल्क पानी वितरण गर्ने, स्वस्थ्य शिविरको सञ्चालन, साँस्कृतिक कार्यक्रममा तामाङ फापारे गीतको प्रस्तुति, तामाङ लोक दोहोरी, तामाङ कलाकारहरुको प्रस्तुति र एफएम रेडियोबाट कार्यक्रमहरुको प्रत्यक्ष प्रसारण गर्ने’ विज्ञाप्तीमा उल्लेख छ । ‘श्रद्धालु भक्तजनहरुको सुविधाका लागि हेल्प डेक्स, पुजाआजाको लागि त्रिपालको व्यवस्था, घुम्ती सौचालयको व्यवस्था, सुरक्षाको व्यवस्था र स्वंयमसेवकको व्यवस्था गरिने’ पनि प्रेस विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी स्वयम्भू चैत्रपूर्णे जात्रा मुल व्यवस्थापन समितिले ‘बैशाख ८ र १० गते दुई दिन विहान ७ बजे सरसफाइको कार्यक्रम सञ्चालन गर्ने, स्वस्थ्य शिविर सञ्चालन, पार्किङको व्यवस्था, सम्पर्क केन्द्र राख्ने, तामाङ मौलिक फापारे गीत गाउनका लागि पीपलबोट तरकारी बजारभित्र व्यवस्थापन गर्ने, तामाङ गीति क्यासेट विक्री वितरण र नेपाल तामाङ सँस्कृति घेदुङको कार्यक्रम भूइखेल चौरमा गर्ने’ प्रेस विज्ञाप्तीमा उल्लेख गरेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...