काडमाडौं, वैशाख १ – २०७२ सालमा भूकम्प, नाकाबन्दी, अभाव र कष्ट झेलेका नेपालीलाई २०७३ साल कस्तो होला भन्ने खुल्दुली छ । ज्योतिषीहरुका अनुसार २०७३ साल अघिल्ला वर्षहरुभन्दा धेरै राम्रो छ । नेपाल पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्य प्रसाद ढुंगेलका अनुसार यो वर्ष शुभ ग्रहको बाहुल्यता रहेको छ ।
‘०७३ सालको राजा चाहिँ शुक्र हो । यस्तै मन्त्रीमा बुध छ । दुवै ग्रह राजा र मन्त्री भएको हुनाले तुलनात्मक रुपमा ०७३ साल देशको लागि धेरै राम्रो छ’ उहाँले भन्नुभयो । उहाँका अनुसार यस वर्ष पक्ष ग्रहण पनि परेका छैनन् । पक्ष ग्रहण पर्दा उथलपुथल हुने गर्छ । तर यसवर्ष यस्ता ग्रहण छैनन् । घस्र पक्ष पनि छैन ।
‘यस्तै दशैंतिर गएर टुटफुट हुने, विवाद हुने अवस्था केही पनि छैन । त्यसैले समग्र रुपमा यो वर्ष निकै राम्रो रहेको हामीले मूल्याँकन गरेका छौं’ उहाँले भन्नुभयो ।ज्योतिषीका कुरामा कतिलाई विश्वास लाग्छ, कतिलाई लाग्दैन । विश्वास नगर्नेहरुलाई पनि ज्योतिषीले के भविष्यवाणी गरेछन् भन्ने चासो हुन्छ ।
चासो राख्ने धेरै भएकाले ज्योतिषीले वार्षिक, मासिक र दैनिक भविष्यवाणी गर्दै आएका छन् । नयाँ वर्ष सुरु हुनै लाग्दा ज्योतिषीहरुले २०७३ सालको भविष्यवाणी सार्वजनिक गरिसकेका छन् ।
नेपाल पञ्चांग निर्णायक समितिबाट स्वीकृत सूर्य पञ्चांगमा उल्लेख २०७३ सालको वार्षिक भविष्यफल यस्तो छ :
यस वर्ष लोकमा प्रशस्त वृष्टि हुनाले जनता खुसी हुनेछन् । परस्परमा वैमनश्य हट्नेछ । धार्मिक कृत्यतर्फ सबैको मन जानेछ । तर महंगी बढ्नाले जनता मारमा पर्नेछन् । राज्यपक्षले ध्यान नदिँदा जनतामा खिन्नता बढ्नेछ । ग्रहपरिषद्लाइ विचार गर्दा यस वर्ष राजा शुक्र र मन्त्री बुध भएर बसेको छ । तसर्थ राज्य पक्षबाट सोचविचार नगरी महत्वाकांक्षी कार्ययोजना बनाउने तर कायान्वयनमा ध्यान नदिँदा राहतको संचार हुने छैन ।
विकासमा भन्दा मनोरञ्जन र औपचारिक समारोहको आयोजनाले राज्यकोषको दुरुपयोग बढ्नेछ । दल्हन पदार्थको मूल्य बढ्नेछ । शस्येश शनि र धान्यश बृहस्पतिलाई आधार मान्दा जनता राज्य पक्षबाट नै अप्रत्यक्ष रुपमा पीडित बन्नेछन् । कृषिमा आश्रित मुलुक भएर पनि कृषक समुदायको पीडामा राज्यपक्ष गम्भीर नबन्नाले कृषकवर्ग रुष्ट बन्नेछन् । मेघेश बुध र रसेश भन्द्रमालाई विचार गर्दा पर्याप्त वृष्टि हुनेछ । लोकमा आनन्दको संचार हुनेछ । नयाँ नयाँ योजनातर्फ सबैको ध्यान आकृष्ट हुनेछ ।
सिसा, फलाम लगायतका मूल्य बढ्नेछ । फलेश पदमा आसीन मंगललाई विचार गर्दा फलफूल उत्पादनमा मन्दी हुनाले मूल्य वृद्धि हुनेछ । तर स्याउ, अनारजस्ता केही विशेष प्रकारका फलफूलको भने उत्पादन बढ्नेछ । धनेश शनि भएकाले पूँजीपति र निम्न वर्गका बीचमा दुरी झन् बढ्नेछ । श्रमिक वर्ग मारमा पर्नेछन् । दुर्गेश पदमा आसीन बुधलाई विचार गर्दा देशको सीमासुरक्षामा राज्य पक्ष सजग देखिन्न ।
बाह्यशक्तिको प्रभावका सीमासुरक्षा व्यवस्था पूर्णतया प्रभावित हुनेछ । आद्र्राप्रवेश समय विचार गर्दा धान्यादि वस्तुको उत्पादनमा वृद्धि हुनेछ । विद्रोहको स्वर सुनिनेछ । जल वर्षणमा अनियमितता हुने देखिन्छ ।
वृहष्पति दशमस्थानमा मित्रगृही भएर बस्नु सुखद पक्ष हो । धार्मिक–साँस्कृतिक अतिक्रमणका प्रयास भएपनि सफल हुनेछैन । केही राम्रा कामहरुको सुरुवात हुनेछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...