-->
भारतमा ६ लाख पर्ने कार नेपाल आइपुग्दा २२ लाख

नेपालमा अधिकांश सस्ता कारको माग हुन्छ। हुण्डाइ, टाटा, मारुति सुजुकी, फोर्ड, डाटसन, होण्डा लगायतका कम्पनीका कम मूल्यका कार पाइन्छन्। सामान्यतया नेपालमा कारको प्रारम्भिक मूल्य करिब १५ लाख रुपैयाँ छ। तर, विशेषगरी २० लाखदेखि ३० लाख रुपैयाँसम्मका कार बढी मात्रामा बिक्ने गरेको व्यवसायीहरु बताउँछन्।
तर नेपालमा सस्ता भनिएका कारको मूल्य कति सस्तो हो त?
यहाँ आउने इन्ट्रिलेबल कार प्रायः भारतबाटै आयात हुन्छन्। हामीले सस्तो भनेर किनेको कारको मूल्य भारतमा करिब ५ गुणा सस्तो पर्छ।
केही कम्पनीका सस्ता कार यीनको नेपाल र भारतमा प्रारम्भिक मूल्य यस्तो छः
कम्पनी/मोडल इन्जिन भारतमा प्रारम्भिक मूल्य (भारु) नेपालमा प्रारम्भिक मूल्य (नेरु)
हुण्डाइ इयन ८१४ सिसि ३ लाख २० हजार १६ लाख ५६ हजार
हुण्डाइ ग्रयाण्ड आइ १० ११९७ सिसि ४ लाख २९ हजार २५ लाख ७६ हजार
मारुति सुजुकी अल्टो ७९६ सिसि २ लाख ६० हजार १४ लाख ९९ हजार
मारुति सुजुकी सेलेरियो ९९८ सिसि ४ लाख ६५ हजार २२ लाख ६९ हजार
डाटसन गो ११९८ सिसि ३ लाख ३० हजार १८ लाख ९९ हजार
होण्डा ब्रियो ११९८ सिसि ५ लाख ३१ हजार २५ लाख ६० हजार
टाटा बोल्ट ११९३ सिसि ४ लाख ८३ हजार २३ लाख ९५ हजार
फोर्ड अल न्यू फिगो १.२ लिटर ४ लाख ४७ हजार २२ लाख ९९ हजार
महिन्द्रा केयूभी १०० ११९८ सिसि ४ लाख ५६ हजार २४ लाख ९५ हजार
यसरी हामी देख्न सक्छौँ कि भारतको तुलनामा कम्तीमा पनि चार गुणा बढी मूल्य नेपालमा तिर्नुपर्छ ।
किन यति धेरै मूल्य पर्छ?
नेपालमा कारको यति धेरै मूल्य भएको भन्सार महसुल र अन्य करका कारण हो। भन्सार विभागका प्रवक्ता सूर्यराज सेढाइका अनुसार नेपालमा सामान्यतया एउटा प्यासेन्जर भेइकल आयात गर्दा २२५.४४ प्रतिशतसम्म कर तिर्नुपर्छ।
उनका अनुसार भन्सार महसुल, अन्त शुल्क, भ्याटसहित कूल भारतबाट २१८.२१ प्रतिशत, सार्क मुलुकबाट २२५.४४ प्रतिशत र तिब्बतबाट २१९.६५ प्रतिशत कर लाग्छ।
यसमा कारको मूल्यको ८० प्रतिशत भन्सार महसुल, त्यसपछिको मूल्यमा ६० प्रतिशत अन्तशुल्क लाग्ने प्रवक्ता सेढाइले जानकारी दिए। त्यस्तै अन्तशुल्क पछिको मूल्यमा १३ प्रतिशत भ्याट लगाइन्छ।
त्यस्तै कार भित्र्याइसकेपछि ५ प्रतिशत दर्ता शुल्क र ३ प्रतिशत बीमा शुल्क तिर्नुपर्छ। यी बाहेक पनि कम्पनीले अन्य प्रक्रिया पूरा गरेर बिक्री गर्दासम्म करिब ६ लाख रुपैयाँको कार नेपाली बजार आइपुग्दा २२ लाख रुपैयाँसम्म पुग्छ।
मोटरसाइकलको हदमा भने कर तथा महसुल कम भएका प्रवक्ता सेढाइले जानकारी दिएका छन्। दुई पांग्रेको आयातमा भारतबाट कूल १०२.३४ प्रतिशत र अन्यबाट १०५.६६ प्रतिशत कर तथा महसुल लाग्छ।
त्यस्तै विद्युतीय चार पांग्रेमा ४० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट र दुई पांग्रेमा १५ प्रतिशत र भन्सार र १३ प्रतिशत भ्याट लाग्छ। विद्युतीय सवारीमा अन्तशुल्क भने नलाग्ने प्रवक्ता सेढाइले बताए।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.