काठमाडौं, ५ वैशाख । गत जनवरी ६ मा मुम्बईबाट साउदीको रियाद उडेको जेट एयरको विमान मस्कटमा डाइभर्ट ल्यान्ड गरियो । कारण भनियो–पासपोर्ट नम्बर ०८८४२४५०९ का नेपाली यात्रुले विमानभित्र असामान्य गतिविधि देखाए ।
ती यात्रुलाई ओमानको अलमसरा अस्पताल भर्ना गरियो । कान्तिपुर दैनिकले समाचार छापेको छ । एयरलाइन्सले मस्कटस्थित नेपाली दूतावासलाई फ्याक्समार्फत त्यसको जानकारी गरायो ।
‘विपन्न दलित परिवारका उनलाई म्यानपावरले ९५ हजार रुपैयाँ लिएर उडाएको रहेछ, दूतावासका श्रम सहचारी भवनाथ खतिवडाले भने, ‘जब उडे, ऋण सम्झिएर असामान्य अवस्थामा पुगेको हुनुपर्छ । हामीले अस्पतालको बेडमा भेट्दा उनी ९५ हजार भन्दै बर्बराइरहेका थिए । दूतावासले निचोड निकाल्यो, ‘झन्डै एक लाख रुपैयाँ खर्च भएको पीडाले उनी विक्षिप्त भएको हुनुपर्छ ।’
उनलाई पठाउने म्यानपावरलाई खतिवडाले फोन गरेर भने, ‘सरकारले बढीमा १० हजारमा लिनु भनेको छ, तपाईले के आधारमा त्यत्रो पैसा लिनुभयो ?’
उनका अनुसार म्यानपावर एजेन्सी उपचार खर्च बेहोर्न र तिरेको पैसा फिर्ता गर्न तयार भयो ।
सरकारले बढीमा १० हजार रुपैयाँ लिन पाउने गरी वैदेशिक रोजगारमा फ्री भिसा टिकट लागू गरेको छ । तर पैसा उठाउने क्रम रोकिएको छैन ।


0 comments
प्रतिक्रिया दिनुहोस्...